- लेखनाथ पोख्रेल
जनयुद्धको अन्तिम समय । लगातारको नेपाल बन्दले दशदिनदेखि ठप्प थियो देश । तथापि बिराटनगरबाट इलाम जानै पर्ने मेरो वाध्यता । गन्तव्यसम्म पुग्ने कुनै साधन नपाएकोले, असहज भएपनि सिलिगुडी भएर पशुपतिनगर जाने वैकल्पिक बाटोतर्फ लागेको थिएँ म । त्यो बेला, फर्बिसगञ्जबाट दुइटा रात्रिबस सिलिगुडीतर्फ जानेगर्थे । म पहिलो बसमा चढेको थिएँ । मेरो छेउमा थिए गुल्मी घर भएका एकजना गुरुङ भाइ । बिदाबाट फर्केर हाजिर हुन गौहाटी जान लागेका उनी इन्डियन आर्मीको बहालवाला हवल्दार रहेछन् । चिनजानको क्रममा मैले आफूलाई इन्जिनियर हुँ भनेको थिएँ । सर, हजुरको मासिक तलब कति हुन्छ ? त्यस्तो अपत्यासित प्रश्न सुन्दा म अक्क न बक्क भएको थिएँ । त्यो प्रश्नको जबाब दिनुभन्दा नदिनु ठीकजस्तो लागेकोले, सँगैको सिटमा बसेको त्यो लक्का तन्नेरीपट्टी आँखा नफर्काई, गुड्दै गरेको बसको झ्यालबाट बाहिर हेर्नथालें । झमक्क साँझ परिसकेको थियो । बस भारत विहारको कुनै ग्रामीणक्षेत्र भएर कुद्दै थियो । कुन्नि किन हो ? त्यो भाइलाइ मेरो तलबको बारेमा जान्न किन त्यत्रो सकसक लागेको थियो ! एक घण्टा पछि दोहोर्याएर मलाई कोट्याउदै उनले फेरी उही प्रश्न मतिर तेस्र्याएका थिए ।
डलरको खेती हुने मुलुकमा घुम्न पुगेको बेला एकपटक मैले एउटी तरुनीलाइ ‘तिम्रो उमेर कती भयो नानी’ भनेर सोधेको थिएँ भने अर्को तन्नेरीलाइ ‘कमाई कती हुन्छ बाबु’ भनेर सोद्धा झन्डै अभर परेको थियो । बेलुका घरफर्किएर आएपछि छोरा बुहारीले भने ‘बुबा, यहाँ उमेर र कमाइको कुरा सोधेको मान्छेले रुचाउदैनन’ । आफ्नो उमेर र कमाइको कुरा सुनाउन के को लाज मान्नुपर्ने होला भन्ने लागेको थियो त्यो बेला । छेउमा बसेका तन्नेरीले घरिघरि कोट्याएर आफ्नो तलब सोधेको कुराले त्यस पटक भने म आफैँलाई अभर परेको थियो । धन्नै उनले मेरो उमेर सोधेका थिएनन । सोधेको भए म खर्ल्याङ्ग खुर्लुङ्ग हुन्थें होलाझैँ लाग्यो ।
उनले भर्खर भएको आफ्नो बिबाहमा सालीहरूले जुत्ता लुकाएर पाँच सय रुपैयाँ तिर्नुपरेको कुरा सुनाए । बिबाह गरेर घरमा छोडेकी आफ्नी सुन्दर श्रीमतीको बखान गरेँ । श्रीमतीसँग सदरमुकाम तम्घास र रेसुङ्गा घुम्नजाँदाका रमाइला प्रसङ्गहरु सुनाए । सालीहरूले गरेका उट्पट्याङ्ग व्यवहारदेखि आफ्नो भेडीगोठ, घरगाउँ र ससुरालीसम्मका कुराको बेलीविस्तार लगाए । आफ्नो तलब भत्ताको विवरण सुनाए । सबै कुरा जोडदा उनको मासिक तलब भारु तीस हजार हुँदोरै’छ । त्यो रकम मेरो पाँच महिनाको तलब बराबर थियो । मैले आफ्नो तलबको बारेमा कुरा गर्न पटकपटक आनाकानी गरेको देखेर ऊ आफैंले भने, ‘हजुरको तलब एक लाखभन्दा घटी त के होला र ?’ उनको त्यस्तो कुरा सुन्दा मलाई उपर्तली होलाजस्तो भयो । तर, केही बोलिन । उनी डेडअक्कली थिए क्यारे ! मेरो मौनतालाइ उनले आफैँले ‘हो’ भन्ने अर्थ लगाउँन बेर लगाएनन् । त्यस्तो अर्थ लगाउन सकेकोमा उनी आफूदेखि आफैँ मक्ख परेँ । आफ्नो अड्कल ठीक भएको ठान्ने उनले खुशी हुँदै भने ‘म त भन्दैथिएँ नि ! इन्जिनियरको तलब एक लाखभन्दा घटी त हुनै सक्दैन ! मैले ठीक अन्दाज लगाएँछु होगी सर ?’ एक महिनापछि हुने आफ्नो अवकासपत्र खल्तीमा बोकेको मैले मन, मनमा भने ‘तिम्रो मुखमा घ्यू सखर परोस् ।’ अर्को बिहानी सिलिगुडीबाट उनी गौहाटी जान रेल्वे स्टेशनतिर लागे । म इलाम जान मिरिकको बसस्टपतर्फ ।
आँखाले भ्याएजति टाढासम्म देखिने चिया बगान । बगानको बीचभएर निस्केको नागबेलीझैँ बटारीएको साँगुरो सडक । जता आँखा घुमायो उतै हरियो । खाली भन्ने ठाउँ कहीं थिएन । आठ घन्टाको लामो यात्रापछि बस मिरिक पुग्दा घाम अस्ताउँन लागेको थियो । बसबाट ओर्लिदै गर्दा मैले त्यहाँ जे देखें त्यो बिस्वास गर्न सकिनेखालको दृश्य थिएन । मैले आफ्ना आँखा झिमिक्क पनि नपारी हेरेको थिएँ मिरिकलाई ।
झ्याम्म परेका, थरिथरिका होचा अग्ला हरियो सल्लाका रुख बिरुवाले घेरिएको बजार । चिसो हावा । शान्त बाताबरण । अस्ताउँदो घामसँगै टाडा क्षितिजमा देखियेका रातो बादलका टाटाहरु । सारङ्गीको आवाजलाइ बिर्साउने झ्याउँकिरीको र्याई र्याई । हरियालीले छपक्क छोपेको दुइटा डाडाको खोंचमा अबस्थित सबा किलोमिटर लामो निलो सुमेंदु ताल ।
नौकाबिहारमा रमाईरहेका पर्यटकहरु । तालको बीचमा बनेको लामो इन्द्रेणी पुल । प्रत्येक साँझ इन्द्रेणी पुलमा बल्नेगरेको रङ्गीचङ्गी झिलिमिली बत्तिको प्रतिबिम्बित प्रकाश पानीमा तरङ्गीत हुँदा देखिने सुमेंदु तालको रोमाञ्चकारी दृश्यले मलाई विस्मित तुल्याएको थियो । म मिरिकको सुन्दरता देखेर हुरुक्कै भएको थिएँ ।
त्यहाँ देखिएका मनोरम दृश्यले दिनभरिको यात्राको थकाइलाई उडाएर कता पुर्यायो अत्तोपत्तो भएन । साँझपख परेको सिमसिमे पानी र चिसो सिरेटोले चैतको महिनामा पनि सिरक तान्नुपर्ने बनायो । मिठो निद्रा लिएर आएको रात बितेको पत्तैभएन । उठ्दा बिहानीको सात बजिसकेको थियो । बिहानको कलिलो घाममा झन कल्कलाउँदो देखिन्थ्यो मिरिक ।
बिहानीको खाजाखाए पश्चात चढेको भाडाको विलिस जिप हुँइकिएर पशुपतिनगरतर्फ लाग्यो । केही अगाडि गएपछि नेपालको भू–भाग देखिनथाल्यो । सिमाना पारीको हरियो चियाबारीले झपक्क छोपेका पाखाभित्ताको अगाडि नेपालतर्फको मरुभूमिजस्तो उजाड भीरको कतइ तुलनाको गुञ्जायससम्म पनि नदेख्ता कताकता नरमाइलो लाग्यो । एक छिन सोचेँ कतै ती पारीका हरिया चियाबारीका डाँडाले हाम्रो उपहास गरिरहेका त छैनन् । मन पुनः खिन्न भएर आयो । दसबजे पशुपति नगर पुग्दा मुसलधारे पानी पर्दैथियो । इलाम जाने गाडी पाइएला भन्ने आश थियो । त्यहाँ त बन्दको कारण, पसल त के घरका ढोका समेत खुलेका रहेनछन् ।
बजारमा धेरै पटक ओहोर दोहोर गरेको देखेर एकजना पसलेलाई दया लागेछ क्यारे ! उनले आफ्नो पसल खोलेर मलाई भित्र बोलाए । ढोका बन्द गरेर अन्डा र चाउचाउ पकाएर खान दिए । पानी परिराखेकाले उनले मलाई एउटा छाताको पनि बन्दोबस्त गरिदिए । केही अगाडि रहेको ‘चिज कारखाना’ भित्र पसेर आधाकिलो चिज किनेर झोलामा हालेर त्यहीँ चिज टोक्दै फिक्कलतर्फ जाने ओरालो बाटो लागें । हिड्ने बानी हराइसकेको थियो । बेलुकीको चार बजे फिक्कल पुग्दा थाकेर लोथ भइसकेको थिएँ । सडक विभागको आफ्नो गेस्टहाउस भएकाले वासबस्न भने गाह्रो भएन ।
फिक्कलबाट इलाम पुग्न चवालिस किलोमिटर बाटो हिड्नु पथ्र्यो । फिक्कलबाट बिहान पाँच बजे ओरालो लागेको थिएँ । माथिल्लो गोदकमा खाना खाएर हिंडेको माइखोला पुग्दा साँझ पर्यो । माइखोला माथिको डाडा देखिनै भोकलाग्न थालेको थियो । माइखोला पुग्दासम्म भोक र थकाइले लखतरान भएर खुट्टै नचल्ने स्थितिमा पुगे । बाह्र दिनदेखिको बन्दमा पिल्सीएको माइखोलाको छाप्रे होटेलमा के खानेकुरा पाउनु । होटेल रित्तो भइसकेको थियो । डोरीमा झुण्डाएका धुस्रे केरा र चिनीबिनाको रातो चिया बाहेक केही पाइएन । धुस्रे केरा र बिमिरो, यि दुइ चिजसँग सानै उमेर देखिनै मेरो ग्रह मिल्दैनथ्यो । बाध्यताले के के मात्र गराउदैन मान्छेलाइ । दुई कोशा धमर्धुस धुस्रे केरा र दुइ कप चिया खाएर उठेको मात्र थिएँ, पिंडुला बटारिएर थचक्कै भुइँमा बसें । ‘थाकेको बेला पाकेको केरा’ भन्ने उखान त सुनेको थिएँ । तर त्यो उखान परिणाममुखी बनेर आफैंमाथि ओइरियेला भन्ने कुरा के थाहा हुनु । अर्को एक घण्टा आराम गरेपछि मात्र म खुट्टा टेकेर हिड्न सक्ने स्थितिमा पुगेको थिएँ ।
दुई घन्टाको अप्ठेरो ठाडो उकालो बाँकीनै थियो । तिल्किनी गाउँ पुग्दा झमक्क साँझ पर्यो । शरीर थाकेर हिड्न सक्ने अवस्थामा थिएन । यस्तो बेलामा उभिएर थकाइ मार्ने मात्र एउटा उपाय हुन्छ । बस्यो भने उठ्न सकिन्न । लट्ठी टेकेर टर्च बाल्दै मुस्किलले राति आठ बजे आफ्नो क्वार्टरमा पुगेर ढलेको म, भोलिपल्ट बिहान एघार बजे मात्र व्युंझिएँछु ।
बिठ्याई गर्ने बानीपरेका माओवादीले बेलामौकामा यातायात बन्द गर्न कतै रुख ढाल्ने गर्थे त कतै पाखाका ठुल्ठुला ढुङ्गा झारेर बाटो छेक्ने काम गरिराखेका हुन्थे । त्यसपटक भने, पौवा भन्ज्याङ्भन्दा केही तलतिर एउटा ढुङ्गा आफै झरेर बाटो बन्द भएको थियो । बाटो खोल्ने काम सडक विभागको भए पनि, विस्फोटक पदार्थ सेनाको जिम्मामा हुने गथ्र्यो । ताप्लेजुङ्, पाँचथर, इलाम र झापादेखि सुरु भएको मेची राजमार्गको यातायात बन्दको हल्ला शाहीसेना प्रमुखको कान हुँदै राजासम्म पुगेछ । माथिबाट आउने एक पछि अर्को आदेशले सिडिओ, डिएसपीको र सडक कार्यालयको फोनका घण्टीले विश्राम पाउन छोडेका थिए । तत्काल बाटो नखुलेमा कारबाहीको चेतावनी विभाग र मन्त्रालयबाट आउन थाले । सडक कार्यालयलाई विस्फोटक पदार्थ देऊ, बाटो खुल्छ भन्ने हिम्मत पुलिस, प्रसासन कसैले पनि जुटाउन सकेन । विस्फोटक पदार्थको माग गर्दा, कुनै भवितव्य पर्न गएमा कसले जिम्मेवारी लिने ? ‘कुन मुसाले कहिले बिरालोको घाँटीमा घण्टीबाध्ने हिम्मत गरेको थियो र !’ त्यो विकट परिस्थितिको समाधान शाहीसेना बाहेक अरू कसैसँग पनि नभएको कुराको निचोड जिल्लाका हाकिमहरूको दिनहुँ बस्ने बैठकले निकाल्यो । त्यो एउटा ढुङ्गा फुटाउने कुराले राष्ट्रिय समस्याको रूपलियो ।
चारआली ब्यारेकबाट कर्नेलको कमाण्डमा शाहीसेनाको एकसयजनाको टोली खटिएर इलाम आइपुग्यो । सेनाका जवानले ट्रक भरिए । छवटा गाडीमा सेनाका बिभिन्न तहका हाकिमहरु चढे । सडक विभागको प्रतिनिधि बनेर म गएको थिएँ । कुनै ठूलो रास्ट्रिय सङ्कट मोचनको लागि निस्किएझैं लाग्थ्यो इलामबाट तामझामसहित निस्किएको शाहीसेनाको त्यो टोली । सामान्य हिँडाइमा दुइ घन्टामा पुगिने रक्शे भन्ज्याङ्ग पुग्न छ घण्टा लाग्यो । रक्से भन्ज्याङ्गबाट सुरुभएको लेकाली हुस्सु यती बाक्लो थियो कि दस फिट टाडाको मानिस ठम्याउन धौ धौ पथ्र्यो । गाडीको बाटो देखाउन दिउँसै सर्च लाइट बाल्नुपर्ने स्थिति बन्यो । सडकमा सेनाका गाडी गुडेका थिए भने खरीजुकाले भरिएको पाखा भित्तामा सर्चलाइट र बन्दुक बोकेर कुद्दैगरेका सेनाका जवान । राँके भन्ज्याङ्गमा रहेको शाही सेनाको अस्थाई क्याम्पमा पुग्दा रातिको नौ बज्दै थियो ।
सुरक्ष्या सतर्कता अपनाउंदै गएको शाही सेनाको टोलीलाई ४३ किमी टाढा रहेको त्यो ढुङ्गासम्म पुग्न दुई दिन लाग्यो । शाहीसेना देखेर भागेका गाउँका पुरुषवर्ग कता गए अत्तोपत्तो भएन । ढुङ्गा ब्लास्ट गर्नको लागि प्वाल खोप्नुपर्ने हुन्थ्यो । पुरुषसशून्य भएको छेउछाउका गाउँमा प्वाल खोप्ने मानिस भेटिएन । प्वाल खोप्ने मानिस खोज्न अर्को एक दिन लाग्यो । चौथो दिन एक केजी जिलेटिन र आठ गोटा डेटोनेटरको सहायताले ढुङ्गा फुटाएर पन्छाइयो । त्यस बेला, त्यति सामानको मूल्य जम्माजम्मी तीनसय रुपैयाभन्दा बढी पर्दैनथ्यो । ढुङ्गा फुटेपछि कुनै ठूलो लडाई जितेर आएझैँ गरेर, राजाको जयजयकार गर्दै फिरेको शाहीसेनाको तमासाले इलामवासीलाई ठुलै मनोरञ्जन गराएको थियो । आफूहरू नौटङ्कीको पात्र बनेको कुरा भने ती बहादुरहरूको दिमागमा पस्न सकेन । त्यति कामको लागि सेनाका हाकिमको तामझाम, भोजभतेर र भत्तामा कतिलाख खर्च भयो होला भन्ने जिज्ञाषा भने अझैँ मेरो मनमा यथावत छदैँछ ।
कतै जन कारबाही । कहीँ भाटे कारबाही । कतै लुटपाट । कहीँ आगजनी । कहीँ चन्दा आतङ्क त कहीँ बम आक्रमणको कारण माओबादी त्रासको पर्यायबाची शब्द बनेको थियो । जिल्ला सदरमुकाम कब्जा गर्न एक पछि अर्को आक्रमण गर्दै गरेका उनीहरुको प्रयास जति असफल हुँदै गयो, बम र बन्दुकको भिषण आक्रमणको शिलशिला भने बढ्दो थियो ।
ढुङ्गा फुटाएर फर्किएको केही दिनपछि । इलाम सदरमुकाम कब्जा गर्नको लागि माओवादी आउँदैछन् भन्ने हल्ला चल्न थालेको थियो । प्रत्येक आक्रमणमा उनीहरुले गाउँलेलाइ ढाल बनाएर अगाडी हिडाउछन भन्ने अर्को हल्ला पनि चलेको थियो । माओवादिको मानवढाल बनेर जानुपर्ने हो कि भन्ने त्रासले त्रसित थिए इलामवासी । कुन वेला के हुने हो भन्ने अन्दाज कसैलाई थिएन । साँझ परेपछि न गाडी गुडेको देखिन्थ्यो । न कुनै पसल खुलाहुन्थे । न त कुनै मानिस बाहिर निस्किन्थ्यो । सडक सुनसान हुन्थ्यो । नचिनेको मान्छेसँग त्यहाँ कसैले सबाल जबाफ गर्दैनथ्यो । एकरात माओवादीले इलामको सेनाको व्यारेकमा आक्रमण गर्यो । रातको एघारबजेदेखि चल्न सुरुभएको बन्दुक र मेसिनगनका आवाज बिहानको चारबजेसम्म आइरह्यो । त्यो राति त सबैकुरा थाहाहुन सम्भव थिएन । बिहान पनि थोरै कुरामात्र बाहिर आयो । बिहान हामीहरू टाउनहलमा पुग्दा हलभरी रगत जमेको थियो । एक कुनामा नसालु पदार्थको सुइ र खाली बोतलहरू फालिएका थिए । तर, मरेको मानिस त्यहाँ भेटिएन । उज्यालो हुनु अगाडि नै माओवादीको जत्था घाइते र मरिसकेका लडाकुको लाससहित चियाबारी भएर भागिसकेका थिए रे । सेनाको हेलिकोप्टर उनीहरूको खोजीमा उडिराखेका देखिन्थे ।






