यस्तो छ आजको मौसम

काठमाडौं,
साउन ८ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

मनसूनी न्युन चापीय रेखा पश्चिमि भू–भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू-भागमा नेपाल नजिक रहेको महासाखाले पूर्वानुमानमा उल्लेख गरेको छ । महाशाखाले बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको उल्लेख गरेको छ ।

यसैगरी, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत हुनसक्ने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने भन्दै सतर्क रहन आग्रह गरेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा सडक तथा हवाई यातायातसमेत प्रभावित हुने र ढल तथा पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले भनेको छ ।

यसमा तपाइको मत

अन्य समाचार