– पेशल आचार्य
एक वर्षमा दुई ‘अयन’ हुन्छन् । अयन भनेको सूर्य हिँड्ने बाटो हो । सम्वत्सर अनुसार दक्षिणायन् अर्थात् सूर्य दक्षिणतर्फ जाने मुहुर्त र उत्तरायण भनेको सूर्य उत्तरतर्फ जाने मुहुर्त । साउने सङ्क्रान्तिलाई कर्कट सङ्क्रान्ति याने दक्षिणायन महुर्त भनिन्छ । यही सङ्क्रान्तिदेखि हिउँद लाग्ने विश्वास गरिन्छ । जसका कारण क्रमशः पानी चीसो हुँदै जाने र हिउँदका लक्षणहरू देखापर्ने हुन्छन् । बर्खामासमा दिन लामा र रात छोटा र हिउँद मासमा रात लामा र दिन छोटा हुने गर्दछन् । मानो खाएर मुरी उब्जाउने बेला भएकाले दिन लामा भएका हुन् । सिर्जनाका लागि प्रकृतिले पनि दिनलाई लामा बनाई दिएकी हुन् ।
सामाजिक रुपमा कृषि कार्य गर्ने कृषकहरूका अझै केही खेतीपातीका कामहरू बाँकी नै रहने भएकाले वर्षा नै हो कि भनेर पनि झुक्किने गरिन्छ तर मास, सम्वत्सर र अयनका हिसाबले कर्कट सङ्क्रान्तिदेखि नै हिउँदारम्भ भैसकेको हुन्छ । दिन, सप्ताह र महिना यी सबैसबै तिथि र घडीपला अनुसार चल्ने भएकाले पात्रो निर्माण गर्ने ज्योतिषहरूले बताएको सम्वत्सरका कुराहरूमा विश्वसनीयता हुन्छ । रह्यो सांसारिक र व्यवहारिक तर्कका कुराहरू यी मानेमा चाहिँ हामी बूढापाका र भोक्ताहरूका अनुभव र तर्कमा ध्यान दिन सक्छौं ।
समय बलवान छ । समयको चक्र कहिल्यै रोकिँदैन । यो शतत् रुपमा चलायमान छ । हिजो पनि यसको अस्थित्व थियो । आज पनि यसको महत्व छ र भोलि पनि यसको गुणवत्ता चलायमान् रहिरहने छ । त्यस मानेमा क्षण, पल, निमेष, घडी, घन्टा, प्रहर, दिन, रात, सप्ताह, पक्ष, महिना, वर्ष, शताब्दी र सहस्राब्दी यी सबैसबै आफैँमा परिपूर्ण हुन् । मौलिक पनि हुन् । प्रकृतिमा रहेका जलचर, स्थलचर, उभयचर र खेचरहरूलाई समान तवरले संरक्षण गर्न, जीव विस्तारका लागि अवसर दिन, खानेकुराहरुको जोहो जम्मा गराउन र कालावधि पुगेपछि पुनः मृत्युका मुखमा पुर्याउन प्रकृति नै चलायमान हुन्छिन् । अझ मानिस बाहेक यो चराचर जगत्मा रहेका वनस्पति र प्राणीहरुको सृष्टिचक्रलाई पनि यिनै महिना र अयनहरुले डोहोर्याइरहेका हुन्छन् ।
हामीले देखको छौं । गाईभैसीँ भदौ र असोजमा बढी ब्याउने गर्दछन् । कुकुरहरु कार्तिक महिनामा बढी संसर्गमा लीन हुन्छन् । रजोवती हुने हरेक प्राणीका स्त्रीको स्वनिर्धारित चक्र हुन्छ । तर, मानिसले मात्र यो चक्रलाई विस्थापन गर्दै गएको छ । यसैले मानिसको अस्तित्व सङ्कटमा पर्दै गएको हो । यो कुरा मानिसले बुझेर पनि बुझ पचाइरहेको छ ।
मानिसले सभ्यताको शुरुआतसँगै यी सबै समयका सूक्ष्म र वृहत् छालहरूसँग लड्दै र भिड्दै आएका छन् । केही समय अघिसम्म नेपाल कृषिप्रधान देश थियो । वर्तमान समयमा यो युवा निर्यातप्रधान देशका रुपमा रहिआएको छ । देशमा हरेक वर्ष करिब ५ लाख जनशक्ति स्वदेशी श्रम बजारमा आउँछन् । तिनीहरूलाई स्वदेशमा भएका सरकारी, गैरसरकारी, अर्ध सरकारी र प्राइभेट कम्पनीहरूले समेत थेग्न सक्दैनन् अनि दक्षता हासिल गरेका केही कामदार र दक्षता हासिल नगरेका कामदारहरू विदेशस्थित उद्योगधन्दा र कलकारखानामा काम गर्न जान्छन् । जसबाट देशलाई वार्षिक करिब ८ खर्ब बराबरको विप्रेषण आउँछ । यही विप्रेशषणमा दाइँ गरेर तिनीहरूका घरपरिवारहरू लगायत तीनै तहका सरकारहरू बजेट बनाएर उफ्रिपाफ्री गर्छन् । रजाइँ चल्छ तिनै युवाहरूले खुन पसिना एकठ्ठा गरी जम्मा पारेको रेमिट्यान्समा विभिन्न चिन्तनका साथ खर्च गर्न होडबाजी ।
प्रकृतिपूजक आदिवासी तथा जनजातिहरू प्रकृतिको नियमानुसारका पार्विक उत्सव र चाडबाडलाई आफ्नो जीवनपद्दति मान्छन् । यस सन्दर्भमा हामीले उँधौली र उँभौली पर्वका नामहरू सुनेका छौं । उँधौली पर्वमा चरा र माछाहरू नदी र खोलाहरूमा उँधो अथवा तल जाने गर्दछन् भने उँभौली पर्वमा तिनै चरा र माछाहरू माथि जाने गर्दछन् । प्रकृतिको यो गणनाबाट चलेको जीवन आजभोलि भने अर्धसहरीकरण र सहरीकरणका कारण जनजीवन नै छिन्नभिन्न भएको अवस्थामा बलैले चलेको छ ।
मानिसले अहिले आफ्नो प्राकृतिक थातबास र पुख्र्यौली थलो छाड्दै गैरहेका छन् । मानिसहरू वैदेशिक रोगजारी र विभिन्न देशमा गएर उहीँ बस्ने सोचले ती देशहरूका पिआर लिएर बस्ने संस्कारले घर गर्दै जान थालेपछि साथै अन्तर्जातीय र अन्तर्राष्ट्रिय विवाहका कारण एउटा जाति अर्को जातिमा गएर विलोप हुने स्थिति पनि आइसकेको छ । यो अवस्थामा केही मात्रामा हाम्रो पितृ सत्तात्मक वर्ण अवस्थाले जातिलाई बचाउने काम गरेको छ ।
यी सम्वत्सरहरूले मानव जीवनमा अनेकानेक प्रभाव पारेका हुन्छन् । हिजो सो प्रभावका बारेमा पितापुर्खाहरूले सन्धान र सूक्ष्म अध्ययन गर्दथे । अहिले हामी विज्ञान र प्रविधिका पछि हात धोएर लागे पनि ती कुराहरूको अध्ययन, ममन, चिन्तन र खोज गर्ने परिपाटी चलेको देखिँदैन । अहिले हामीलाई कम्प्युटर प्रविधिले दिलाएका यावत् सुखहरू र कपीपेष्ट गर्ने सुविधाले मात्र जीवन पन्पिएको पाइन्छ । त्यसो त खोजी गर्ने र गूढ गम्भीर भएर काम गर्ने मानिसहरू अझै आफ्नो क्षेत्रहरूमा लागिरहेकै छन् ।
‘साउनको सुकिलोमुकिलो मङ्सिरको धान चोर’ भन्ने उखान उहिले चलेको थियो । छ न त अहिले पनि छ तर अहिले यो उखानको अवस्था केही कमजोर भएको छ । विगत् दुईतीन दसक अघिदेखि चाइनिज बेपारले गति लिएपछि हामी नेपालीलाई हुने सबै प्रकारका लत्ता कपडा र अन्य वस्तुआदिहरू आयातमा सजिलो र शीघ्रता भएपछि नेपालीहरूले राम्रोसँग मिलाएर लाउन खान पाएका छन् । सो क्षेत्रका जानकारहरू भन्ने गर्छन्- भारतीय उत्पादनमा फिनिसिङ् नहुने तर चाइनिज उत्पादनमा फिनिसिङ् हुने तर त्यसको टिकाउ दर कमी हुने भएकाले मानिसले सस्तोमा वस्तु प्राप्त गर्न थाले । यो अवस्थाले गर्दा साउनको सुकिलोमुकिलो मङ्सिरको धान चोर भन्ने आहान नै बन्द भयो ।
समय अनुसारका मानिस, मानिस अनुसारका पेसा र पेसा अनुसारका आहान/उखान बन्ने गर्दा रहेछन् । अहिले भएको पनि त्यही हो । हिजो बूढापाकाहरू ‘जसका छोरा उसको वन, जसको भैँसी उसको वन’ भन्ने गर्दथे । समयले त्यही माग्दथ्यो । बूढापाकाहरू गोठ बस्दथे । दही, मोही, नौनी र घ्यूको छेलोखेलो हुन्थ्यो । गाउँघरको बसोबास हुन्थ्यो । खेतीपाती र व्यवहारमा मानिसहरू रत्तिएका हुन्थे । उत्पादन गरेका, पालेका, पोषेका र आफैँले उत्पादन गरेका चिजबिज र वस्तुहरूबाटै जीवन सर्लक्क चल्दथ्यो । जिरा, नुन, कपडा र साबन आदि वस्तु किनेर जनजीवन चल्दथ्यो । अहिले सबैसबै चिजबिज नकिनेको समय हुँदैन ।
भनाइ नै थियो हिजोका दिनमा । हिजो दसैँतिहारहरू बटुलेका, खोजेका, उत्पादन गरेका र आफैँले तुल्याएका वस्तुहरूबाट मनाइन्थ्यो त्यसैले घटस्थापना भन्दा एक हप्ता वा दुई हप्ताअघि देखि नै मानिसहरू कमेरो, रातोमाटो, केरा, खसी, चिउरा, घ्यू र अन्नको जोहो जर्दथे । अहिले मानिसहरू फूलपातीसम्म पनि बजारबाट आफूलाई चाहिएको र मन परेका वस्तुहरू खरिद गरिरहेका हुन्छन् । उपभोक्तावादी समाजमा बसेपछि हरेक कुराहरू बजारको भर पर्नु पर्ने अहिलेको समयको बाध्यता नै भइसक्यो ।
नयाँ वर्ष, जूडशीतल, सिरुवामेला, बुद्धजयन्ती, उँभौली पूर्णिमा, अक्षयतृतीया, हरिशयनी एकादशी, कर्कट संक्रान्ति (साउने संक्रान्ति), नागपञ्चमी, ऋषितर्पणी, कृष्णजन्माष्टमी, हरितालिका, गणेश चौथी, ऋषि पञ्चमी, सोह्र श्राद्ध, नवरात्र, घटस्थापना, फूलपाती, महाअष्टमी, महानवमी, विजया दशमी, पापाङ्कुशा एकादशी, कोजाग्रत पूर्णिमा, यम पञ्चक (काक, कुकुर, गाई, हलि र भाइ तिहार), विवाह पञ्चमी, उँधौली पूर्णिमा, मकर सङ्क्रान्ति (माघे सङ्क्रान्ति), श्रीपञ्चमी, शिवरात्री, फागु पूर्णिमा, चैत्राष्टमी, रामनवमी हुँदै फेरि सम्वत्सर फेरिएपछि नयाँ वर्षले हामीलाई स्वागत् गर्ने गरेका छन् । यो हाम्रो सनातन धर्मावलम्बीको धार्मिक चक्र पनि हो । यसमा बुद्धिष्ट र प्रकृतिपूजकहरूका पनि केही चाडवाडलाई समेट्ने प्रयास गरिएको छ ।
रह्यो ल्होसारका क्रियाकर्महरू यी चाहिँ आदिवासी जनजातिहरूका पार्विक तिथिमितिअनुसार मनाउने गरिन्छ । यसका अलावा नेपालमा मुश्लिम र क्रिश्चियनहरूका पनि पार्विक महत्वका चाडबाडहरूलाई मनाइने परम्परा विगत् केही दसकदेखि चलेको पाइन्छ । यसरी नियालेका खण्डमा हामीले हामीलाई हाम्रो स्वसंस्कृतिमा बाँध्नका लागि परापूर्व कालदेखि पूर्खाले मान्दै आएका र हामी सन्ततीलाई विराशतका रुपमा सुम्पेका यी र यस्ता पर्वहरूको जर्गेना गरी हामीले पनि हाम्रा सन्ततीहरूलाई असल संस्कार दिनका लागि बँचाएर राख्नु पर्छ ।
अहिलेलाई हामी यही कामना गरौं । गाउँघरमा उहिले यही दिनमा लुतो फाल्ने पर्व पनि मनाउने गरिन्थ्यो । जसका लागि कुरिलोको जरा, कुकुर डाइनो, कोइला, धूप, सल्लाको दियालो आदि मिलाएर बाल्ने र धूँवाउने गरिन्थ्यो । वरपर रहेका छिमेकीहरूलाई बोलाएर ‘ए ! फलाना ! लुतो लैजा है !’ भनेर साउने सङ्क्रान्ति मनाउने गरिन्थ्यो । यही दिन खेती पातीबाट थकित र क्लान्त भएका किसानहरूले सकेको जति माछामासु खाएर आफूमा पुनः ऊर्जा सङ्कलनका कार्य गर्दथे । घुमीफिरी आएको साउने याने कर्कट सङ्क्रान्तिका शुभ अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना छ ।






