काठमाडौं,
असार ३१
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबारको मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै, मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको महाशाखाले जनाएको छ । देशभर आँशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।
महाशाखाका अनुसार आज देशभर आँशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
महाशाखाले देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । साथै प्रदेश १, प्रदेश ५, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाकोसमेत सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल-पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।






