काठमाडौं,
असार १९ ।
बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको बिहीबार राति निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको ७२ वर्षको उमेरमा कार्डियक अरेस्टको कारण मृत्यु भएको सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
हिन्दुस्तान टाइम्सका अनुसार हृदयघात भएपछि गत महिना उनलाई मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएको थियो । जुन १७ मा सास फेर्न समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सरोजका परिवारमा उनका पति बी. सोहनलाल, छोरा हमीद खान, छोरीहरू हिना खान र सुक्याना खान रहेका छन् ।
बलिउडमा झण्डै ४ दशक काम गरेकी सरोजले ४ हजार बढी गीतमा नृत्य निर्देशन गरेकी छन् । नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्ड प्राप्त गरेकी छन् । उनले अन्तिमपटक करन जोहर निर्मित ‘कंलक’ सिनेमाको ‘तबाह हो गई’ गीतमा कोरियोग्राफी गरेकी थिइन् ।






