- गीता अधिकारी
कृषिप्रधान देश भनेर चिनिएको हाम्रो देशमा हरेक वर्ष मध्यअसार तथा असार १५ लाई धानदिवसको रूपमा मनाउने गरिन्छ । मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । कृषि क्षेत्रको प्रवद्र्धन तथा कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ०६० सालदेखि हरेक वर्ष असार १५ लाई धान दिवसको रूपमा मनाउँदै आएको छ ।
कृषिप्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसैअनुसार प्रभाव पार्ने भएकाले रोपाइँको ठूलो महत्व रहिआएको हो । यस वर्ष यो उत्सवमा कोरोनाको कहर र पछिल्ला केही दिनमा देखिएको सलहले किसानमा चिन्ता र केही अप्ठायारो परिस्थिति बनाएको छ ।

- गीता अधिकारी
खेतिका लागि उपयुक्तमौसम सुरु भएको दिन असार १५ लाई रोपाई सुरु भएको दिनको रूपमा दही चिउरा खाएर मनाउने हाम्रो परम्परा रहिआएको छ । रोपाइँ गरी दहीचिउरा खानाले शरीरमा स्फूर्ति उत्पन्नहुने जन विश्वासमा खेतीपाती नहुनेले पनि अरूको खेतमा वा आफ्नै करेसा बारीमा रोपाइँ गरेर हिलो छयापा छयाप गरी रमाइलो गर्ने गर्दछन् ।
साता-पन्ध्र दिन काम गरेर वर्षभर खाने बाली लगाउन कामको मिचो भएकाले वास्तवमा सबै कृषकका लागि असारको पन्ध्र महत्वको हुन्छ । लासलाई एकछिन घुमले छोपेर भए पनि असारे भेल छोप्नुपर्दछ भन्ने बूढापाकाको भनाइले पनि यसको महत्व दर्शाउँछ । त्यस्तै ‘असारमा डुल्ने पजनीमा भुल्ने’ अर्थात् असारमा काम गर्ने वेलामा त्यसै डुल्ने र सरकारको काम इमानदारीपूर्वक नगरी पदोन्नति अर्थात् पजनीमा नपर्ने व्यक्तिले गरी खाँदैन भन्ने बूढापाकाको अर्को उखानले पनि असारको महत्वलाई पुष्टि गर्छ ।
रोपाइँ कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ । रोपाइँको पहिलो दिन देवतालाई बिउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाइँको श्रीगणेश गरिन्छ । रोपाइँमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाइँ गरिने भएकाले यसले सामाजिक एकता र सद्भाव बढाउन पनि ठूलो टेवा पुर्याउँदै आएको छ ।
कतै-कतै ठूला खेती भएकाले रोपाइँ गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजाबजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रूमाल बाँड्ने पनि प्रचलन छ । दोहोरी रोपाईं गीतको रन्कोमा रोपाईं गर्नु असारको अर्को आकर्षण हो । खेत गर्हामा लाठे र रोपाहारहरू असारे गीतको भाकासँगै रोपाईंमा व्यस्त हुन्छन् । लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरीबाटी चिटिक्क परेर मेलामा झरेका रोपाहारहरू कोही ब्याडमा बिउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन् ।
हाम्रो देशमा समुद्री सतहभन्दा ७० मिटर उचाईमा रहेको झापाको केचनादेखि २ हजार ७८० मिटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धान खेती गरिंदै आएको छ । जुम्लामा लगाइने धानखेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा धानखेती भएको मानिन्छ । पछिल्लो समयको एक तथ्याङ्कअनुसार धानखेतीको ७९ प्रतिशत क्षेत्रफल भन्दा बढी विकासे जातका धानखेतीले ओगटेको बताइन्छ । यसले हाम्रो स्थानीय उत्पादन लोप हुँदै गएको छ ।
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ। मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् ।






