काठमाडौं,
असार ८ ।
थप ५ सय ३५ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ५ सय ३५ थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । योसँगै सङ्क्रमितको सङ्ख्या ९ हजार ५ सय ६१ पुगेको छ ।
थपिएका नयाँ सङ्क्रमितमा झापाका ३, मोरङका १२, सप्तरीका १५, धनुषाका १०, महोत्तरीका १, अछामका २, अर्घाखाँचीका ९, बैतडीका १४, डडेलधुराका १५, डोटीका ७, गुल्मीका ५६ , जाजरकोटका १, कैलालीका ५८, नवलपरासीका ५, सर्लाहीका ४७, सिन्धुपाल्चोकका २, सिरहाका २३, स्याङजाका ३३, पाल्पाका ९०, प्युठानका ३०, रौटहटका ३४, रुपन्देहीका १०, चितवनका ५, नवलपरासी पूर्वका २४, ओखलढुंगाका १, तनहुँका ११ र दाङका १३ जना रहेका छन् ।
बितेको २४ घण्टामा ३ सय ७० जना सङ्क्रमित कोरोनाभाइरस मुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना विशेष अस्पताल रुपन्देहीबाट ६ जना, प्रादेशिक अस्पताल सुर्खेतबाट ६ जना, कालीकोट अस्पतालबाट २८ जना, दैलेख अस्पतालबाट २ सय ६५ जना, सल्यान अस्पतालबाट ३७ जना, नारायणी अस्पतालबाट ११ जना र धादिङ अस्पतालबाट १७ जना गरी कूल ३ सय ७० जना निको भएका छन् । जसमा ३२ महिला र ३ सय ३८ पुरुष रहेका छन् । योसहित हालसम्म २ हजार १ सय ४२ व्यक्तिले कोरोना जितेका छन् । जसमा १ सय ६१ महिला र १ हजार ९ सय ६१ जना पुरुष रहेका छन् ।
देशभर हालसम्म एक लाख ८१ हजार ३ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ६८ हजार १ सय ३ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार १ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका विभिन्न क्वारेन्टिनमा ९० हजार ७ सय ३० मानिसहरु रहेका छन् भने आइसोलसनमा ७ हजार ७ सय ८९ कोरोना सङ्क्रमितहरु रहेका छन् ।
हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७६ जिल्लामा कोरोना फैलिइसकेको छ । ७७ जिल्लामध्ये रसुवामा भने अहिलेसम्म कोरोनाका बिरामी भेटिएका छैनन् ।






