काठमाडौं,
असार ७ ।
नेपालमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणबाट थप १ को मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार असार ५ गते गुल्मीको चत्रकोट गाउँपालिका ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
पारालाइसिसको उपचारका लागि भारत गएको र जेठ २५ गते नेपाल आएका वृद्धको असार ५ गते होम क्वारेन्टाइनमै मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।
गौतमका अनुसार मृत्युपछि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो ।
६ गते भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । उनको शव असार ६ गते नेपाली सेनाको विशेष टोलीले व्यवस्थापन गरिसकेको छ । यसअघि २२ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।
प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ४ सय २१ थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । पछिल्लो २४ घण्टामा भेटिएका सङ्क्रमितमा ३ सय ५७ जना पुरुष र ६४ जना महिला रहेका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या ९ हजार २६ पुगेको छ । जसमा ८ सय २० महिला र ८ हजार २ सय ६ जना पुरुष रहेका छन् ।
अहिलेसम्म कोरोना जित्नेको सङ्ख्या १ हजार ७ सय ७२ रहेको छ । जसमध्ये १ सय ४९ महिला र १ हजार ६ सय २३ पुरुष रहेका छन् ।






