काठमाडौं,
असार ३ ।
लद्दाखको गलवान उपत्याकामा दुई देशका सेनाबीझ झडप हुँदा भारतीय सेनाका अधिकृत सहित कम्तिमा २० सिपाही मारिएका छन् । एलओसी क्षेत्रमा पछिल्ला केही महिनादेखि नै यस्ता किसिमका झडप भए पनि पहिलो पटक मृत्यु भएको हो । सुरुमा तीन भारतीय सैनिकको मृत्यु भएको बताइएको थियो ।
भारतीय सञ्चार माध्यमका अनुसार २० जना भारतीय सैनिक मारिएका छन् । यस क्रममा केही चिनियाँ सिपाही पनि घाइते भएको बताइएको छ । यद्यपि चिनियाँ सेनाबारे विस्तृतमा विवरण आइसकेको छैन ।
भारतको सरकारी समाचार संस्था पीटीआईले भारत र चीनका सेनाबीच केही घण्टासम्म भीषण झडप भएको जनाएको छ । झडपमा कयौँ भारतीय सेना घाइते र बेपत्ता छन् । एएनआईले सरकारी स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार यो सङ्ख्या अझै बढ्न सक्नेछ ।
सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा भारतीय सेनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । पछिल्लो समय लद्दाखमा दुवै पक्षले भौतिक संरचना निर्माणको गति र सेना तथा हतियारको सङ्ख्या वृद्धि गरिरहेका छन् ।






