काठमाडौं,
जेठ ३० ।
सरकारले शुक्रबार (आज)देखि लकडाउन खुकुलो पार्ने निर्णय गरेसँगै राजधानी काठमाडौंको जनजीवन सामान्य हुन थालेको छ । विहानै राजधानीमा चहल पहलमा वृद्धि भएको छ । पसल खुलेका छन् भने मानिसहरु र सवारी साधनको चहल पहलमा पनि वृद्धि भएको छ । आजैदेखि जोर-बिजोर प्रणालीमा निजी सवारी साधन चल्न दिइने सरकारले निर्णय गरेसँगै आज जोर नम्बर प्लेटका सवारी साधन सञ्चालित भएका छन् ।
जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाईने छैन । उपत्यकाको हकमा तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्लामा यो व्यवस्था लागू गरिने छ । यसअघि पास लिएर सञ्चालन भएको निजि सवारी साधनहरू पनि जोर विजोर प्रणाली अनुसार मात्र चल्नु पर्नेछ ।
महानगरीय ट्राफिक प्रहरीका अनुसार ४ पाङ्गे सवारी साधनमा चालकसहित ३ जनासम्म सवार हुन सक्नेछन् । २ पाङ्गे सवारी साधनहरु मोटरसाइकल, स्कुटर, मोपेडमा भने चालक मात्र हुनुपर्नेछ ।
अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू वेलुका ९ः०० बजेदेखि विहान ५ः०० बजेसम्म चलाउन भने रोक लागाइएको छ । सार्वजनिक यातायात अर्थात कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चल्न पाइने छैन ।






