काठमाडौं,
जेठ २२ ।
कोरोना जित्नेको सङ्ख्या २ सय ९० पुगेको छ । थप १२ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना जितेर घर फर्किनेको सङ्ख्या २ सय ९० पुगेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विहीबारको नियमित मिडिया ब्रिफिङमा थप १२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका बताएका हुन् ।
गत २४ घण्टामा कोरोनाबाट थप ३ सय ३४ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा सबै भन्दा बढी दैलेखका १ सय १३ जनामा कोरोनाको पुष्टि भएको छ । योसँगै कोरोनाबाट सङ्क्रमति हुनेको सङ्ख्या २ हजार ६ सय ३४ पुग्यो ।
कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखाको एक र पाल्पाका एक गरी १० जनाको मृत्यु भएको छ ।






