काठमाडौं,
जेठ २२ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै नेपालमा आज स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको निसर्ग चक्रवातको प्रभाव परेको जनाएको छ । हाल देशभरी नै सामान्य र पूर्ण बदली भइरहेको साथै प्रदेश १, २ र बाग्मती प्रदेशबाहेक अन्य प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाले आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रही बाँकी प्रदेशहरुमा मौसम सामान्य बदली रहने मौसम पूर्वानुमानमा उल्लेख गरेको छ । यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ र बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशहरुमा मौसम सामान्य बदलि रहने, सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाँकी भूभागका एक, दुई स्थानहरुमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।






