काठमाडौं
जेठ १५ ।
नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘साहित्यकार-कलाकार परिचय कोश’को नयाँ संस्करण प्रकाशन गर्ने भएको छ । यसअघि प्रकाशित कोशलाई परिमार्जन गरी प्रकाशन गरिने भएको हो ।
परिचय कोशको परिमार्जित संस्करणमा यसअगिको संस्करणमा छुटेका वाङ्मयका भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, समाजशास्त्र, मानवशास्त्र, भूगोल, राजनीतिकशास्त्र, अर्थशास्त्र, विज्ञान, कला, सङ्गीत, नृत्य, अभिनय लगायत विभिन्न विधाका लेखक तथा प्रतिभाहरूको विवरण समावेश गरी अद्यावधिक गरी प्रकाशन गर्न लागिएको नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत्प्रसाद उपाध्यायले बताउनुभयो ।
सदस्य सचिव उपाध्यायले साहित्यकार, कलाकार तथा प्रतिभाहरूले असार १५ भित्रमा आफ्नो विवरण उपलब्ध गराइसक्नुपर्ने जानकारी गराउनुभयो ।






