- लेखनाथ पोख्रेल
अस्तित्वले प्रकृतिको रचनामा कुनै कन्जुस्याई गरेन । मुग्ध बनाउने मोहिनीरूप दियो । रचना प्रकृतिको धर्म हो । प्रकृतिले सुन्दरतम जीवको रचना गर्यो मानिस । प्रकृति आफैंमा अत्यन्त सुन्दर भएको हुँदा, सुन्दरताको बोध उसले मानव जातिको नशा-नशामा भरिदिएको हुन्छ । उसले मानिसलाई जन्मँदै रसिक र रचनात्मक बनाएर पठाएको हुन्छ । त्यही कारण हो, हर युगमा पुरुष होस् कि महिला, सुन्दरताका पारखी र फेशनप्रेमी नै थिए । कसले कस्तो खाले रचना गर्ला भन्ने कुरा, उसको दृष्टि, अनुकरणीय क्षमता, परिवेशको अनुकूलता र रुचिमा भर पर्ने कुरा हो । जङ्गल चाहार्दा माकुराको जालोमा झुन्डिन पुगेको शीतको थोपालाई देख्ने सुनारको छोराले सुन्दर नेक्लेसको डिजाइन बनाइदिन्छ । उत्तरी ध्रुवको रैथाने पिङ्गुइन चरालाई देख्ने कुनै सूचिकारले कालो र सेतो लुगाको सम्मिश्रणबाट त्यही चराकै आकृतिको अनौठो डिजाइनको चुच्चेकोट तयार पार्छ । प्रकृतिप्रेमी कविले सुन्दर कविताको रचना गरेर सबलाई मुग्ध बनाइदिन्छ । मानिसका यी आदि गरिएका चाहना पूरा गर्ने त्यस्ता प्रकृतिप्रेमी कलाकारलाई सँधै सलाम … !
दर्जी त अरु पनि थिए गाउँमा । तर उसको कुरै अलग । जति राम्रो शीलस्वभाव त्यति नै हँसमुख । स्वस्थ र सुन्दर जिउडालको मालिक ऊ राम्रो लुगा सिलाउन औधि सिपालु थियो । नाम थियो ठूले दमाई । बोलाउदा भने उसलाई सबैले ठूले मात्र भन्ने गर्थे । भन्थे, ठूलेले लुगा सिलाउने मान्छेको जिउमा इन्ची फित्ता घुमाउनै पर्दैन, आँखाले घुमाए पुग्छ । तीन गाउँ परदेखिका मानिस उसकोमा लुगा लिएर आउन थालेपछि गाउँका भुराहरुले दशैं नजिकिदै गएको कुरा थाहा पाउँंथे ।
मिठो पाराले गफ गर्न बिछट्ट सिपालु । पारखीमध्येको एउटा कलाकार थियो ऊ । कुरा पनि कति थोक जानेको हुन्थ्यो उसले ! हाम्रो बाले हामीहरुलाइ सुनाउने गर्नुभएको काठमाडौंको रानीपोखरीको किस्सा । हनुमान ढोकाको नौ तले दरबारको कथा । कृष्ण मन्दिर र पशुपतिनाथको गाथा । काठमाडौं खाल्टोका मान्छेको ऋण तिरिदिएर नेपाल सम्बत चलाउने शङ्खधरको कुराभन्दा फरकखाले हुन्थे उसका कुरा । उसले कहिले कलिम्पोङ भन्थ्यो । कहिले खर्साङ । कहिले दार्जिलिङ त कहिले गान्टोक । मैले कहिल्यै नसुनेका त्यस्तै ठाउँको नाम लिन्थ्यो उसले । हाम्रो बाले अनगिन्ती पटक देख्नु भएको काठमाडौंको नाम भने उसले कुनै दिन उच्चारण गरेन । सुनिरहुँ परेका गफ गर्ने ऊ, सायद काठमाडौं पुगेको थिएन ।
उसले अक्षरसम्म चिनेको थियो । राम्ररी किताब पढ्न भने सक्दैनथ्यो । अद्भुत स्मरणशक्ति थियो ऊसंँग । जे जति कुरा सुन्थ्यो ती सबै कुरालाई मनको भित्री तलसम्म पु¥याएर राखेको हुन्थ्यो । कुनै पनि कुरालाई रोचक ढङ्गले प्रस्तुत गर्ने अनौठो क्षमता थियो ऊसँंग । सुन्दर कालिम्पोङ्मा भएका थुप्रै अङ्ग्रेजी स्कुलका कुरा । त्यहाँको दुर्बिन डाँडामा बनेको भब्य गुम्बाको कुरा । दार्जिलिङमा हुँदा, दुई घण्टा टाढाको पैदल बाटोमा पर्ने डाँडाको टुप्पोमा रहेको सुन्दर सिंचल-लेक । सूर्योदय हेर्नकोलागि टाइगर हिलमा लाग्ने गरेको पर्यटकको भीड । नेपाल, सिक्किम र भारत तीन देशको सिमाना बनेर उभिएको सन्दकपुर डाँडासम्म पुगेर उसले देखेको आकर्षक कुराहरुको वर्णन सुन्दा, कुनै मीठो कुरा अगाडि देख्दा मुखमा पानी आएजस्तो हुन्थ्यो । ऊ, दोर्जेलिङ (दार्जिलिङ) पुगेर लुगा सिउन सिपालु भएर आएको रे । दोर्जेलिङबाट आउँदा उसले आफुसँग एउटा लुगासिउने कल पनि लिएर आएको थियो । त्यो कल कुर्सीमाथि बसेर खुट्टाले चलाउन पनि मिल्थ्यो । बसेर हातले मात्र चलाउन पनि हुन्थ्यो । त्यस्तो मेसिन कि त ओखाल्ढुङ्गामा देख्न पाइन्छ कि त खोटाङमा मात्र भन्ने कुरा सुनेको थिएँ मैले ।
लुगा त अरुले पनि सिलाउँंथे । तर, ठुलेले सिलाएका दौरा, सुरुवाल र चुच्चे अस्कोटको कुरै अर्कै । उसले त गोराहरुले लगाउने कोट, पाइन्ट, कमिज, पाइजामासमेत सिउन जानेको थियो । हाम्रो बालाई उसले, त्यो बेलाका भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले लगाउने गरेको ‘ज्वारी कोट’ (जवाहर कोट) सिलाएर दिएको थियो । अनौठो डिजाइनका त्यस्ता लुगा सिउने सीप भएको, ऊ बाहेक अरु कुनै दर्जी थिएनन् । ऊ एउटा स्वस्थ विवाहित तन्नेरी थियो । गुटुर..गू.. , गुटुर..गू .. गर्दै टाँस्सिएर बस्ने परेवाकोजस्तो असाध्यै मिलेको जोडी थियो उनीहरुको ।
ठुलेकी श्रीमती काली-काली बान्कीकी भएपनि हिस्सी परेकी थिई । सवैभन्दा ठूलो कुरा त उसले आफूलाई ठूलेको सही सङ्गीगनी बनाउन कुनै कसुर छोड्दिन थिई । लुगा खुट्दा उसले, आफ्ना हात यति छिटो चलाउँथी, लाग्थ्यो ऊ ठूलेको कललाई भेट्ने कोशिस गर्दैछ । त्योभन्दा ठूलो कुरा थियो उसले ठूलेलाई असाध्यै प्रेम गर्थी । लुगा सिउँदा, ती दुई जनाकोबीचमा हुने हाँसो र ठट्टा, त्यो कुराको पर्याप्त प्रमाण थियो ।
उसले, दशैँको लुगा सिलाउन आउने सबैलाई फुलपातीको दिनसम्म दिन्छु भन्थ्यो । मान्छे इमान्दार थियो । भनेकैदिन लुगा दिने उसको प्रयास हुन्थ्यो । सक्दो प्रयास गर्दा पनि, दिनदशा बिग्रिएका कुनै न कुनै मान्छेको लुगा भने छुटेकै हुन्थ्यो । दशा भन्ने कुरा बाजा बजाएर आउने भए पो ! कसको दशा कुनबेला बिग्रिन्छ भन्ने कसलाई थाहा ? एउटा दशैंमा त्यस्तोखाले दशाको शिकार म नै बन्न पुगेको थिएँ ।
त्यो दशैंमा धन्नै मेरो जात्रा भएन । फूलपातीको अघिल्लो दिन घरका अरु सबैजनाको लुगा आयो । मेरो कमिज र पाईजामा थिएन । कुधेर गएँ ठूलेकोमा । सुनले मोरेको माथिल्लो पट्टीको दांँत ङिच्याउँदै भन्यो- ला ! यी माइला नानी त झन् मेरो भाइको साथी ! एइ बुढी ! हेर, हेर कता प¥यो कपडा । कपडा निकालेर मेरो अगाडि काट्न थाल्यो । नवमीको दिन पठाइदिन्छु भनेपछि म घर फर्किएँ । नवमीको दिन बिहान उज्यालो भयो । दिन ढल्कियो । म रुने हालतमा पुगिसकेको थिएँ । ठूलेले लुगा पठाएन । टीकाको दिन बिहान रुँदै गएपछि बल्ल सिलाई दियो । घर आउँदा टीकाको साइत टर्नलाग्यो भनेर बाले बेस्सरी झपार्नुभयो ।
उसको भाइ साने, मेरो साथी भएकोले, ठूलेले मलाई निक्कै मायागथ्र्यो । ऊ र उसकी श्रीमती तल्लीन भएर लुगा सिलाएको हेर्न मलाई खुब मज्जा लाग्ने भएकाले, स्कुल छुट्टी भएको मौका पारेर उनीहरुकोमा गइरहन्थें । लुगासिउँदा उसले गर्नेगरेका दुइटा काम मलाई सधैं अनौठो लाग्थ्यो । प्रत्येकपटक कामगर्न निकालेको सियोलाई, काम सकिएपछि उसले तत्काल आफुले लगाएको टोपीमा सिउरिने गथ्र्याे । कपडा काटिसकेपछि कैंचीलाई आफ्नो घुँडामुनि राख्न पनि बिर्संदैनथ्यो । ‘त्यसो किन गरेको ?’ भनेर, एक दिन मैले उसलाई सोधेको थिएँ । भन्थ्यो, बिठ्याहिँ गर्ने जुनसुकै कुरालाई पनि अचेटेर राखेन भने त्यसले आफैँलाई सास्ती दिन्छ । धुजा पार्नेजस्तो बिठ्याहा काम गर्ने कैंचीलाई सधैं आफ्नो घुडामुनी अचेटेर राख्ने हो । कैँचीले धुजा पारेर छोडेको कपडालाई जोडजाम पारेर राम्रो बनाइ दिने काम सियोले गर्ने भएकाले उसलाई सम्मान गरेर आफुले लाउने टाउकोको टोपीमा राख्नुपर्छ । ठूले दमाईका त्यस्ता अचम्मलाग्दा कुरा सुनेर छक्क पर्दै घर फर्किने गर्थे ।
भिरालो पाखामा बसेको दाजिर्लिङ शहर । त्यहाँ भएका थुप्रै अङ्ग्रेजी स्कुल, कलेज । घण्टाघर र चौरास्ता । त्यहाँको रेल्वे स्टेशन । घूमको बतासे-लुपमा फन्फनी फन्का लाउँदै गुड्ने रेलको कुरा । छ्याङ्ग उघ्रेको जुनेली रातमा, चौरास्ताबाट चाँदी टल्केकोजस्तो देखिने कञ्चनजङ्घा हिमाल हेरेर कहिल्यै धित नमरेको कुरा उसले पटकपटक सुनाउँने गथ्र्याे । साँझको बेला । चौरास्तामा सुटबुट र ह्याटमा सजिएका । एक हातमा छडी । अर्को हातको अङ्गालोमा रङ्गीचङ्गी लुगा लगाएका गोरी मेमलाई च्यापेर हिड्ने गोराहरुको फ्यान थियो ऊ । भन्थ्यो, छाँटपरेको लुगा भनेको त ती गोरा र मेमहरुले लगाउने खाले पो हुनुपर्छ ! उसले त्यहाँ भएका दुईटा सिनेमाहलमा आफुले हेरेका सिनेमाको कुरा गर्थ्यो । भन्थ्यो, गोराहरु बस्ने, त्यो त सपनाको सहर हो । एकदिन उसले मलाई दार्जीलिङमा हेरेको सिनेमाको, ‘ईचक दाना बीचक दाना दाने उपर दाना …’, भन्ने गीत सुनाए पछि भन्यो, ‘ठूलो भएपछि दोर्जेलिङ शहर हेर्न जानु है, माइला नानी !’
दार्जीलिङ शहरको पल्लो पाखामा थियो सिँगमारी बस्ती । त्यो बस्तीदेखि तलैसम्म देखिने चिया बगानमा काम गर्ने नेपाली मजदुरको कुरा गर्दा भने उसको अनुहार एकतमासको भएर उदास हुने गथ्र्यो । भन्थ्यो, कमाउने धुनमा त्यहाँ पुगेका नेपालीहरुलाई देख्दा, बत्तीमा होमिनपुगेका पुतलीझैं लाग्थ्यो । जति दुःख गरेपनि तिनीहरुलाई दुईछाक खाना र एक झुम्रो लाउन पुगेको मैले कहिल्यै देखिन । तिनीहरुको दुःख देखेको कारणले गर्दा नै होला, सीप सिकिसकेपछि मलाई त्यो ठाउँमा बस्न पटक्कै मन लागेन । आफ्नो थात-थलो नै रमाइलो लागेकोले आफ्नै देश फर्किएँ, भन्दै आफुलाई लुगा सिलाउने काममा फेरी तल्लीन बनाउने गथ्र्यो ।
कुन्नि के भएर हो ऊ धेरै बाँचेन । एक दिन ठूले दमाईको चोला उठ्यो अरे भन्ने खबर आयो । कसैलाई नबिझाउने, असल र राम्रो सीप भएको मान्छे थियो ऊ । गाउँमा सबैले बिस्मत माने ।






