हिरण्यवर्ण महाविहार र सम्पदा

  • केशवप्रसाद चौलागाईं

ललितपुर महानगरपालिका, वडा नं. १६ स्थित हिरण्य महाविहार धार्मिक सहिष्णुता र विश्वशान्तिका लागि प्रेरणा प्रदान गर्ने महत्वपूर्ण सम्पदा हो । शाक्यमुनि बुद्धको प्रतिमासँगै सनातन हिन्दू धर्मावलम्बीहरुले आस्था राख्न गुहेश्वरी र महाकाल भैरवको पनि प्रतिमा र पुजन गरिने परम्पराले धार्मिक सहिष्णुतालाई दर्शाइरहेको छ । सिद्ध बुद्ध र हिन्दू परम्परालाई अगाडि बढाइरहेको दृष्टान्त शान्ति शिक्षाको महत्वपूर्ण आधार हो । भगवान् बुद्धको शान्ति र सुरक्षाको महत्वलाई एकसाथ देखाउने प्रयत्न गरिएको छ ।

  • केशवप्रसाद चौलागाईं

नेपालमा श्रावकयान (थेरवाद) महायान, बज्रयान बौद्धधर्मको उद्गमस्थलको रुपमा विशेषः नेपालमण्डल (काठमाडौं उपत्यका)मा धेरै सङ्ख्यामा बहाः बहिहरुको निर्माण भएको पाइन्छ । लिपि विशेषज्ञ एवम् बौद्ध पण्डित स्व. हेमराज शाक्यका अनुसार, ललितपुरमा मात्रै प्राचीन बहाः बहि र कच्चा बहाःहरु गरी जम्मा २५० सङ्ख्या उल्लेख गरिएको छ । यसकारणले बेलायतका एक सुप्रसिद्ध बौद्ध विद्वान स्नोलग्राभले ललितपुरलाई ‘बौद्ध विश्वविद्यालयको शहर भनी उद्गार व्यक्त गरिएका छन् । ती बहाः बहिहरुमा ‘हिरण्यवर्ण महाविहार क्वाबहाः’ श्रावकयान, महायान र बज्रयान बौद्ध धर्म, बौद्ध संस्कृति, बौद्ध संस्कारको अभ्यास र अनुपम बौद्ध कलाकृतिले सुसज्जित ललितपुरको १८ वटा प्रमुख बहाःहरुमध्ये सर्वोकृष्ट महाविहार हो । विश्व सम्पदामा समेत सुचीकृत रहेकाले यो हिरण्यवर्ण महाविहार नेपालकै एक अद्वितीय महाविहारको रुपमा मानिन्छ ।

बाह्रौं शताब्दीताका थकुरीवंश राजा भाष्करदेव वर्मा संस्कारित यो हिरण्यवर्ण महाविहारलाई सर्वसाधारणको जनप्रचलित भाषामा ‘क्वाबाहाः’ भन्ने गर्दछ । यस महाविहारको मन्दिर पुरै सुनले जलप गरिएको हुनाले सुवर्ण मन्दिरको रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा ‘गोल्डेन टेम्पल’ नामले सुप्रख्यात छ ।
मारवड देशका पिंगला महारानीले यस शाक्यमुनि बुद्धको प्रतिमा चाबहिलमा अवस्थित पिंगला विहारमा स्थापित रहेको थियो । कालान्तरपछि सो प्रतिमा संरक्षणको अभावमा जमिनमुनि पुरिरहेको अवस्थामा भाष्कदेव वर्मा राजालाई सपनामा मुसाले बिरालो लखेट्ने स्थानमा विराजमान गराउनू भनी देखे । त्यस सपनाबमोजिम हिरण्यवर्ण महाविहारमा उक्त शाक्यमुनि बुद्धको प्रतिमा प्रतिस्थापन गरिएको जनश्रुति रहेको छ । हिरा जस्तो टल्किने आँखा र सुन वर्णको ‘हिरण्य’ नामक मुसाले वास गरेको स्थानमा स्थापित भएको हुनाले यस महाविहारको नाम हिरण्यवर्ण महाविहार भनिएको हो ।

यस महाविहारको मूल देवता शाक्यमुनि बुद्धको मूलगन्धकुटीमा १२ वर्षमुनिका यस सर्वसङ्घका कुलपुत्रहरु मूलपुजारीका रुपमा सानो वाफाचा एक/एक महिना बस्ने परम्परा हालसम्म कायम छ । सो मूलपुजारीको सहयोगको रुपमा ठूलो बाफाचा साथमा रहन्छ । यस किसिमको पुजारी बस्ने परम्परा अरु कहीँ कतै विहारमा छैन ।

यस महाविहारको प्राङ्गणको मध्यस्थ भागमा श्री स्वयम्भू (रत्नचैत्य) मन्दिर अवस्थित रहेको छ । यो स्वयम्भू चैत्यलाई यस महाविहारका सर्वसङ्घहरुको कुलदेवता (देगुद्यः) रुपमा पूजा आराधना गर्दै आएको छ । नेपालमा रहेका प्राचीन अलौकिक चैत्यहरुमध्ये एक मानिन्छ ।

यस महाविहारको मूल विशेषताको रुपमा महायान बौद्धको उत्कृष्ट बौद्ध ग्रन्थ अष्टसहस्रिका प्रज्ञापारमिता ग्रन्थ रहेको छ । उक्त पवित्र ग्रन्थ पाठ गर्न प्रत्येक दिन बिहान सबेरै बज्राचार्य गुरुजुहरुबाट पाठ गर्ने परम्परा हालसम्म कायमै रहेको छ । स्वर्ण अक्षरमा हस्तलिखित सो ग्रन्थ नेपाल सम्वत् ३४५मा कपितनगरमा अभय मल्लको शासनकालमा श्रद्धेय भिक्षु आनन्दले लेखेको विश्वास गरिन्छ । सो ग्रन्थको पाठ, पूजा गर्नाले रोग, भय निवारण हुने तथा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । हाल अन्तर्राष्ट्रिय स्तरबाट पनि पूजा पाठ गराउनेहरुको सङ्ख्या बढेको छ ।

यस महाविहारस्थित महायानी गुम्बामा उन्नाईसौं शताब्दीतिर करिब पाँच फिटको श्री अमोघपास लोकेश्वर प्रतिमा प्रतिस्थापित छ । साथै, यस गुम्बामा तिब्बतबाट ल्याइएको महायानी परम्पराको पवित्र कंग्युर, तंग्युर ग्रन्थ पनि सुसज्जित रहेकाले तिब्बती र चीनका श्रद्धालु भक्तजनहरुको आस्थाको केन्द्र बन्न पुगेको छ । साथै, बज्रयानी बौद्ध परम्पराअनुसारको एक लाख पच्चीस हजार श्लोक रहेको लक्षावती प्रज्ञापारमिताजस्ता अनमोल ग्रन्थहरु संंरक्षणको रुपमा रहेको छ ।

यस महाविहार परिसरभित्र श्री स्वयम्भू रत्नचैत्य (देगुद्यः), वज्रसत्व, आर्य नामसङ्गीति, आर्यतारा देवी, योगाम्बर (गुह्यदेवता), महांकाल र अमोघपास लोकेश्वर (गुम्बा) आदि मूल देवी–देवताको रुपमा विराजमान रहेका छन् ।

मित्रराष्ट्र श्रीलङ्काबाट यस हिरण्यवर्ण महाविहारलाई प्राप्त भएको श्रीलङ्काका डिम्बुलागल रज महाविहार, पोलरुनुवामा सुरक्षित भगवान् शाक्यमुनि बुद्धको पवित्र अस्तिधातु तथा बुद्धका अग्रश्रावकहरु शारिपुत्र र महामौद्गल्यायनका अस्थिधातु पनि सुरक्षित रहेको छ । यहाँ अस्थिधातु प्रत्येक वर्षको बुद्ध जयन्तीको पावन दिनमा श्रद्धालु भक्तजनहरुको लागि दर्शन गराउँदै आएको छ ।

यस हिरण्यवर्ण महाविहारको तत्वाधानमा प्रत्येक पाँचौं वर्षमा इतिल्हन सम्यक् महादान पर्व भव्यताका साथ काठमाडौं उपत्यकाका विभिन्न विहार तथा स्थानहरुमा विशालमय दीपंकर बुद्ध, बोधिसत्व लोकेश्वर र आर्यतारा आदि देवीदेवताहरुको विशालरुपमा नागबहालमा भेला गराई सम्यक् महादानको कार्यक्रमको आयोजना सदियौं वर्षदेखि सञ्चालन गर्दै आएको छ भने सो परम्पराअनुसार यस वर्ष २०७६ फागुन १४ र १५ गते सो इतिल्हन सम्यक् महादान पर्वको आयोजना हुन गइरहेको छ ।

नेपाल सम्वत् १६५-१६७मा निर्माण गरिएको शाक्यमुनि बुद्धको प्राचीन प्रतिमाले शान्ति शिक्षाको प्राचीनतालाई संस्थागत गर्दै आएको देखिन्छ । चार आर्य सत्य र अष्टाङ्गीक मार्गको उपदेश गर्दै सिद्धार्थ गौतम बुद्ध धर्मको प्रवर्तक बन्न पुग्नुभयो । ई.पू. ५६२मा लुम्बिनीमा राजपरिवारमा जन्मनुभएका सिद्धार्थ गौतम अन्ततः २९ वर्षको उमेरमै गृह त्याग गरी शान्तिको खोजिमा निस्कनुभएको थियो । सिद्धार्थ गौतमको जन्म भएको सात दिनमा नै आमा मायादेवीको निधन भएकोले उहाँको लालनपालन सौतेनी आमा प्रजापति गौतमीले गर्नुभएको थियो । बाटोमा हिँड्दा बुद्ध, रोगी, मृतक र सन्यासी देखेर वैराग्य उत्पन्न भएकाले पत्नी यशोधरा र पुत्र राहुललाई छोडेर शान्तिको खोजीमा निस्कनुभयो । धेरै वर्षको तपस्या र प्रयत्नपश्चात् बौद्धगयामा ज्ञान प्राप्त गर्न सफल भएपश्चात् चार आर्य सत्य र अष्टाङ्ग मार्गको उपदेश गर्दै शान्तिका लागि मृत्युपर्यन्त लागिरहनु भयो । ई.सं. ४८३मा कुसीनगर, भारतमा देह त्याग गर्नुभएका सिद्धार्थ गौतम भगवान् बुद्धको रुपमा विश्वमा पुजिनु हुन्छ । चार आर्य सत्य र अष्टाङ्ग मार्ग यसप्रकार हुन् । चार आर्य सत्यः- १) यो संसारमा दुःख छ । २) यो दुःखको कारण छ । ३) त्यो कारण इच्छा अथवा वासना हो । ४) वासनालाई नष्ट गरी दुःखलाई हटाउन सकिन्छ । एवम्प्रकार दुःखको कारण र निकासलाई मूर्तरुप दिन बताइएको अष्टाङ्ग मार्ग यसप्रकार हुन् । ठीक दृष्टि, ठीक सङ्कल्प, ठीक कर्म, ठीक जीविका, ठीक प्रयत्न, ठीक स्मृति र ठीक समाधि । आज यही मार्ग मध्यममार्गको रुपमा अगाडि बढिरहेको छ ।

बौद्ध धर्मावलम्बीहरुको कर्मकाण्ड स्थललाई ‘बहाः’ ‘बहाल’ विहार भनिन्छ । बौद्धधर्मको ज्ञान आर्जन गर्ने स्थलको रुपमा स्थापित बहालहरु ललितपुरमा १८ रहेका छन् । उक्त बहाल, ताः बहाल, सु बहाल, ज्यो बहाल, भिन्छे बहाल र गाः बहाल प्रमुख रहेका छन् । बहाल भन्नाले चतुर्भुज आकारको धार्मिक स्थल हो । गणेश र महांकालका मूर्ति बहालका द्वारमा राखिनु धार्मिक सहिष्णुताका उदाहरण हुन् । बहालको मध्यभागमाम चैत्य र चैत्यको आमने–सामने शाक्यमुनि बुद्ध, लोकेश्वर, पदमपाणी वा पञ्चबुद्धका विहार र महाविहार हुन्छन् । बहालको मध्यभागमै मण्डला र वरिपरि बुद्धका स–साना मूर्ति हुने गर्छन् ।

‘नाममि त्वां महादेवी महा भयविनाशिनिम्, महादुर्र्गा प्रसमनीं महाकारुण्यरुपिणीम’ अर्थात् महाभयको नाश गर्ने, महासङ्कटलाई शान्त गर्ने, महान् करुणाकी साक्षात मूर्ति तपाईं महादेवीलाई नमस्कार गर्दछु भन्दै भगवतीको प्राथना देवताले गर्दछन् । देवताहरुले पनि प्रार्थना गर्ने भगवती गुहेश्वरी पनि रहेको हिरण्यवर्ण महाविहार हिन्दू र बौद्धहरुको साझा धार्मिक स्थल बन्न पुगेको छ । नेपाल भ्रमणमा आउने पर्यटकहरुको रोजाइमा पर्ने हिरण्यवर्ण महाविहार तथा अन्य बहालहरु शान्ति शिक्षाका उत्तम स्रोत हुन् । सम्पदा, सहिष्णुता र शान्ति एक-अर्काका पर्याय बन्दै शान्ति तथा मुक्ति प्रदान गरिरहन्छन् ।

(मिलापको २०७६ फागुन अङ्कमा प्रकाशित)

यसमा तपाइको मत

अन्य समाचार