लिपुलेकमा सडक निर्माण कार्य तत्काल रोक्न नेकपा का अध्यक्षद्वयको आग्रह

काठमाडौं,
वैशाख २८ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक वक्तव्य जारी गर्दै भारतले नेपाली भूमि लिपुलेकमा गरिरहेको सडक निर्माण कार्य तत्काल रोक्न आग्रह गरेका छन् । भारतले शुक्रबार लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्‌घाटन गरेकोमा सत्तारुढ दल नेकपाका अध्यक्षद्वयले यस्तो वक्तव्य जारी गरेका हुन् ।

सन् १८१६ को सुगौली सन्धीअनुसार काली (महकाली) नदीको पूर्वपट्टी रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि रहेको सरकारले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । ‘यो तथ्यलाई नेपाल सरकारले विगतमा निरन्तर दोहोर्‍याउँदै आएको छ र पछिल्लो पटक नयाँ राजनीतिक नक्सा जारी भएको सन्दर्भमा भारत सरकारलाई पठाइएको कुटनीतिक नोटमार्फत सन् २०१९ को नोभेम्बर २० मा पनि पुनः अवगत गराइएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

वक्तव्यमा भनिएको छ, ‘नेकपा नेपाल र भारत सरकारसँग सम्पूर्ण सीमा समस्याहरु यसअघि गरिएका समझदारी अनुसार कुटनीतिक पहलमार्फत समाधान गर्न आग्रह गर्दछ । नेकपा उक्त क्षेत्रमा भारतले गरिरहेको सडक निर्माणको कार्य तत्काल रोक्न र उक्त क्षेत्रको समस्या समाधान नभएसम्म कुनै पनि गतिविधि नगर्न आग्रह गर्दछ ।’

यसमा तपाइको मत

अन्य समाचार