काठमाडौं,
वैशाख २७ ।
नेपाल सरकारले भारत सरकारलाई नेपाली भूमि भित्र कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमिमा गर्दै आइरहेको गतिविधि रोक्नको लागि आग्रह गरेको हो । भारतले शुक्रबार नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने लिंक रोडको उद्घाटन गरेपछि नेपाल सरकारले भारत सरकालाई नेपाली भूमिभित्र कुनै पनि गतिविधि नगर्न आग्रह गरेको हो ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर शुक्रबार उद्घाटन गरेको कुरा थाहा पाउँदा दुःख लागेको छ ।’ नेपालले सन् १८१६ कै सुगौली सन्धिअनुसार गतिविधि गरिरहेकोले एकलौटीरुपमा उक्त क्षेत्रमा कुनै गतिविधि नगर्न परराष्ट्र आग्रह गरेको छ ।
परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले सुगौली सन्धी (सन् १८१६) अनुसार आफ्ना गतिविधि गर्दै आएको छ । पूर्वमा काली (महाकाली) नदी यताका सम्पूर्ण भू-भागहरु लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका भू-भाग हुन् । यस विषयमा नेपाल सरकारले केही पहिले र हालै सन् २०१९ नोभेम्बर २० मा पनि भारत सरकारलाई कुटनीतिक नोटमार्फत् सम्बोधन गर्दै आएको छ ।’
‘नेपाल सरकार ऐतिहासिक सन्धी, दस्तावेजहरु, तथ्यहरु र नक्साहरुलाई राखेर नजिकको मित्रसँग मिलेर कुटनीतिक माध्यममार्फत सीमानाको समस्यालाई समाधान गर्न चाहन्छ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको छ ।






