काठमाडौं,
वैशाख २२ ।
गत २४ घण्टामा कोरोना भाइरसको आशङ्कामा एक हजार ३सय८२ जनाको नमुना सङ्कलन गरेर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा एक हजार ३सय८२ जनाको कोेरोना परीक्षण गरिएको गरिएको जानकारी दिएका छन् ।
डा. देवकोटाले पीसीआर विधिबाट हालसम्म १३ हजार ६ सय४० जना र आरडीटी विधिबाट ५० हजार ८सय४५ जनाको कोरोना भाइरसको आंशकामा नमुना परीक्षण गरिएको जानकारी दिए ।
त्यसैगरी सोमबारको प्रेस ब्रिफिङमा आइसोलेसनमा देशभरी १ सय ६ जना रहेका छन् । काठमाडौँमा १ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १ सय ५ जना रहेका छन् । क्वारेन्टाइनमा २१ हजार ५ सय २३ जना रहेको मन्त्रालयले जनाएको छ ।
‘हालसम्म कोरोना संक्रमितको सङ्ख्या ७५ जना रहेको छ । जसमा ५८ जना पुरुष र १७ जना महिला रहेका छन्,’ डा. देवकोटाले भने, ‘कोरोना संक्रमण देखिएर ५९ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १६ जना निको भएर घर गइसकेका छन् । अस्पतालमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रेस ब्रिफिङमा डा. देवकोटाले भने- अहिले डिसइन्फेक्सन स्प्रे औषधी छर्केको देखिन्छ । यस्तो केमिकलले कोरोना भाइरस मर्दैन । यस्ता किटनाशक पदार्थ छर्किने गर्दा आँखा र नाकमा परेमा दम, श्वासप्रश्वासलगायतका विभिन्न समस्या देखिने उनले जानकारी दिए । यस्ता केमिकलले भुइँ र गाडीलगायत सफा गर्न प्रयोग गरिन्छ । कोरोना भाइरसबाट बच्न साबुन पानीले हात धुने, दूरी कायम गर्ने, खोक्दा वा हाँछ्यु गर्दा नाक मुख छोपेर गर्न उनले सुझाव दिए ।






