बलिउड अभिनेता ऋषि कपूरको निधन

काठमाडौं,
वैशाख १८ ।

बुधबार मात्रै अभिनेता इरफान खानलाई ५३ वर्षको उमेरमा गुमाएको बलिउडले आज बिहीबार दिग्गज अभिनेता ऋषि कपूरलाई गुमाएको छ । उपचारका क्रममा ६७ वर्षको उमेरमा बिहीबार ऋषि कपूरको निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको बिहीबार निधन भएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । त्यतिबेला उनले ‘११ महिना ११ दिनपछि घर फर्किएँ’ भन्दै ट्वीट गरेका थिए । गत फेब्रुअरीमा पनि उनी दुई पटक अस्पताल भर्ना भएका थिए ।

६७ वर्षीय ऋषिको पछिल्लो सार्वजनिक भएको चलचित्र ‘द बडी’ हो । ऋषि कपूरकी पत्नी नितू कपूर बलिउडकी अभिनेत्री हुन् । त्यस्तै छोरा रणबिर कपूर बलिउडका चर्चित अभिनेता हुन् भने छोरी रिद्दीमा कपूर सहनी फेसन डिजाइनर छन् ।

सन् १९५२ मा जन्मिएका ऋषि पहिलो पटक ‘मेरो नाम जोकर’ (१९७०)मा बालकलाकारका रुपमा देखिएका थिए । उनका पिता राज कपूरले निर्देशन गरेको यही चलचित्रबाट उनले नेसनल अवार्ड जितेका थिए । त्यसको तीन वर्षपछि उनको पहिलो मुख्य भुमिका भएको चलचित्र ‘बब्बी’ सार्वजनिक भएको थियो । यसबाट उनले उत्कृष्ट अभिनेताको फिल्मफेयर अवार्ड जितेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार