काठमाडौं,
वैशाख ९ ।
नेपाली काँग्रेसले सरकारले सोमबार ल्याएको अध्यादेश लोकतन्त्र विरोधी भएको ठहर गर्दै तत्काल फिर्ता लिन माग गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सोमबार जारी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको हो ।
अध्यादेशले संविधानको ठाडो उल्लंघन गरेको र लोकतन्त्रको मूल्य, मान्यताविपरीत रहेको काँग्रेसको ठम्याइ छ । यसबारे कांग्रेसले बुधबार सरकारबाहिर रहेका दलहरुसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।
मंगलबारको बैठकमा निर्णय फिर्ता नलिए कानुनी बाटोमा जानेबारे पनि छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए ।
बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदारलगायतका नेताहरुको उपस्थिति थियो ।
सरकारले सोमबार राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थालाई संशोधन गर्दै पार्टीको केन्द्रीय कार्यसमिति वा संसदीय दलमा ४० प्रतिशत पुगेमा पार्टी विभाजन गर्न सकिने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने व्यवस्थासहितको दुई अध्यादेश ल्याएको थियो ।






