नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा नेपाली वाङ्मयका विशिष्ट साधक इन्द्रबहादुर राईको दोस्रो स्मृति सभा आयोजना

काठमाडौं,
फागुन २३ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा नेपाली वाङ्मयका विशिष्ट साधक इन्द्रबहादुर राईको दोस्रो स्मृति दिवस एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । ‘नेपाली भाषा-साहित्यमा इन्द्रबहादुर राईको योगदान’ विषयक विचार गोष्ठी बिहिबार आयोजना गरी साधक राईको दोस्रो स्मृति दिवस मनाइएको हो ।

उक्त अवसरमा डा. रत्नमणि नेपालद्वारा सम्पादित तथा देशपत राईद्वारा प्रकाशित विशिष्ट साधक राईको स्मृतिग्रन्थ ‘इन्द्राख्यान’को लोकार्पण समेत गरिएको थियो । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र पूर्व कुलपति एवम् कार्यक्रमका सभापति बैरागी काइँलाले उक्त स्मृतिग्रन्थको लोकार्पण गर्नुभएको हो । उक्त अवसरमा इन्द्रबहादुर राई विशेषाङ्क ‘त्रिफला’ पत्रिकाको समेत लोकार्पण गरिएको थियो ।

कार्यक्रममा बोल्दै राईका साहित्यिक सहयात्री एवम् तेस्रो आयामका एक अभियन्तासमेत रहेका काइँलाले राई नेपाली भाषा-साहित्यका विशिष्ट साधक भएको उल्लेख गर्नुभयो । उहाँले तृक्ष्ण दृष्टिकोणबाट हरेक सवालमा चिन्तन मनन् र सृजना गर्ने विशिष्ट कलाले पूर्ण साधक राईले अनेक थोकमा प्रयोगशीलता देखाएको दाबी गर्नुभयो । काइँलाले भन्नुभयो- “पूर्वीय दर्शनलाई आधार मानेर आइबी राईले लीलालेखन गर्नुभयो । साहित्यलाई नवीन कोणबाट सैद्धान्तिकरण गर्नुभयो । सृजनाका साथै समालोचनाका क्षेत्रमा पनि नवीन पद्धति अपनाउनुभयो । यत्तिको साधक नेपाली साहित्यमा अरु छैनन् ।”
कुलपति गङ्गाप्रसाद उप्रेतीले इन्द्रबहादुर राई नेपाली भाषा-साहित्यका शिखर साधक भएको उल्लेख गर्दै राईको विचार, सिद्धान्त र दर्शनलाई समग्रतामा बुझ्नका लागि उहाँका सृजनाहरूमा पस्नुपर्ने बताउनुभयो । कुलपति उप्रेतीले भन्नुभयो-“हामीले विश्व साहित्यमा गर्वका साथ देखाउने स्रष्टा इन्द्रबहादुर राईबाहेक अर्को छैन ।” उहाँले डा. रत्नमणि नेपालद्वारा सम्पादित स्मृतिग्रन्थ ‘इन्द्राख्यान’ नेपालका तर्फबाट राईप्रति अर्पण गरिएको श्रद्धाको फूल भएको विचार व्यक्त गर्नुभयो ।

उपकुलपति डा. जगमान गुरुङले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै दार्जिलिङमा जन्मिएका स्रष्टा इन्द्रबहादुर राई नेपाली भाषा–साहित्यका महारथि भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो- “यस्ता महारथिको योगदानको हामीले उच्च कदर गर्नुपर्छ ।”

प्रा.डा. अभि सुवेदीले तेस्रो आयाम तथा लीलालेखनमार्फत् राईले नेपाली साहित्यमा उच्चतम् प्रयोग गरेको बताउनुभयो । उहाँले बहुलताका पक्षधर राई आधुनिक चेतनाका विशिष्ट स्रष्टा भएको जिकिर गर्नुभयो ।

प्र.डा. गोविन्दराज भट्टराईले कार्यक्रममा इन्द्रबहादुर राईमाथि गोष्ठीपत्र प्रस्तुत गर्दै स्रष्टा राईलाई जङ्गल छिचोलेर जमिनमा झरेको घामको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो- “इन्द्रबहादुर राई नेपाली वाङ्मय जगत्का सर्वाधिक उचाई भएका स्रष्टा हुनुहुन्थ्यो ।”

कार्यक्रममा कृष्ण धरावासीले राई सहनशील लेखनको पक्षमा रहेको स्रष्टा भएको बताउनुभयो । उहाँले सुनाउनुभयो- “इन्द्रबहादुर राईले अब मानवइतरको पक्षमा पनि स्रष्टाले कलम चलाउनु पर्छ भन्ने विचार व्यक्त गर्ने गर्नुहुन्थ्यो ।”

कार्यक्रममा डा. विन्दु शर्माले प्रा.डा. भट्टराईद्वारा प्रस्तुत गोष्ठीपत्रमाथि टिप्पणी गर्दै गर्नुभएको थियो । टिप्पणीका क्रममा डा. शर्माले भन्नुभयो- “गोष्ठीपत्र प्रस्तोता प्रा.डा. भट्टराई साहित्यमा राजनीति हावी हुनुहुन्न भनेता पनि इन्द्रबहादुर राईको लीलालेखन आफैँमा ठुलो राजनीति थियो ।” उहाँले थप्नुभयो- “लीलालेखनले सबै विचारलाई समेट्दैन । यसभित्र आफैँमा विरोधाभाष पाइन्छ ।” उहाँले सबै लेखक स्वाभावैले प्रगतिशील हुन्छन् भन्ने प्रा.डा. भट्टराईको खन्डन गर्दै भन्नुभयो- “प्रगतिशील हुनु भनेको समाजप्रति उत्तरदायी हुनु हो तर सबै लेखक समाजप्रति उत्तरदायी भएको पाइँदैन ।”

कार्यक्रममा ज्ञानु अधिकारीले स्मृतिग्रन्थ ‘इन्द्राख्यान’माथि समीक्षा प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उहाँले स्मृतिग्रन्थ ‘इन्द्राआख्यान’ सर्वसाधारण पाठकको पहुँचमा पुग्नुपर्नेमा जोड दिनुभयो ।

स्मृतिग्रन्थ ‘इन्द्राख्यान’का सम्पादक डा. नेपालले ग्रन्थ सम्पादन गर्दाको अनुभव व्यक्त गर्नुभएको थियो । उक्त स्मृतिग्रन्थको दोस्रो संस्कण पैरवी प्रकाशनले बजारमा ल्याउने सहमति भएको सम्पादक नेपालले जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानकी आख्यान विभाग प्रमुख प्राज्ञ माया ठकुरीले इन्द्रबहादुर राईले नेपाली आख्यान साहित्यका क्षेत्रमा दिनुभएको विशिष्ट योगदानको चर्चा गर्दै सहभागीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम पूर्व उपकुलपति डा. विष्णुविुभ घिमिरे, प्राज्ञपरिषद् सदस्यहरू, प्राज्ञसभा सदस्यहरू, आजीवन सदस्यहरूका साथै पूर्व प्राज्ञपरिषद् सदस्यद्वय प्रा.डा. ज्ञानू पाण्डे र श्रवण मुकारुङ लगायतका स्रष्टा सर्जकहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण रवीन्द्र तिमसेनाले गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार