काठमाडौं,
फागुन २० ।
होलीको चीर ठड्याइएको छ । काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएको हो । फागु अर्थात् होली पर्व सुरु भएको जनाउ दिन काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएको छ । आज (मंगलबार) बिहान ७ बजेर ५७ मिनेटको साइतमा विधिपूर्वक चीर ठड्याइएको हो ।
चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत देशभर औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो । होली पर्वलाई बसन्त ऋृतिको आगमनको खुसीयालीमा रङ्गसहित मनाउने पर्वको रुपमा लिने गरिएको छ ।
फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूणिर्मासम्म होली पर्व मनाउने गरिन्छ । यस वर्ष होलीको मुख्य दिन काठमाडौंलगायत पहाडी जिल्लाहरुमा फागुन २६ गते र तराई मधेसका जिल्लाहरुमा फागुन २७ गते सार्वजनिक विदा दिइएको छ ।






