मौलिकता झल्काउँदै आधुनिकतालाई आत्मसात् गरेर सांस्कृतिक संस्थानलाई समृद्ध बनाउन अगाडी सरेको छु – अशोकप्यासी राई

काठमाडौं,
माघ २३ ।

सांस्कृतिक संस्थानका नवनियुक्त महाप्रबन्धक अशोकप्यासी राईले पदभार ग्रहण गरेको एक महिना पुगेको अवसरमा बुधबार संस्थान सुधारका नयाँयोजना सार्वजनिक गरेका छन् । जमलस्थित संस्थानमा पत्रकार सम्मेलन आयोजना गर्दै अबको एकसय दिनभित्र संस्थानमा प्रवेश गर्नासाथ गौरव अनुभूति हुने गरी परिवर्तनको आभास दिने प्रतिवद्धता जनाए । सेवाप्रवाह, कार्यशैली, सजावट, सहजता, व्यवहार सबैमा यी कुरा झल्कने उनको भनाइ थियो ।

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को वर्तमान अवस्था, सुधारका योजना, भावी कार्यक्रम र रणनीतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महाप्रबन्धक राईले वर्तमानमा सांस्कृतिक संस्थान सङ्गीन अवस्थाबाट गुज्रिरहेको बताए । ‘अथाह सम्भावना र अवसर भए पनि त्यसको सदुपयोग र व्यवस्थापन हुन नसक्दा संस्थान यो अवस्थामा पुगेको हो’, उनले भने ।

स्पष्ट लक्ष्यसहित चुस्त, पारदर्शी र प्रभावकारी व्यवस्थापन, क्रियाशील कर्मचारी अनि सिर्जनशील कलाकारको सुन्दर संयोजनले संस्थान समृद्ध बन्ने महाप्रबन्धक राईले बताए । संस्थानको भविष्य उज्ज्वल रहेको तर्क गर्दै उनले मौलिकता झल्काउँदै आधुनिकतालाई समेत आत्मसात् गरेर संस्थानलाई समृद्ध बनाउन नयाँ सोच र योजना अगाडी बढाइएको बताए ।

मुुलुकले भ्रमण वर्ष २०२० मनाइरहेकाले नेपाल आएका पर्यटकका लागि नयाँवर्ष २०७७ सँगै संस्थानमा साप्ताहिक रूपमा सांस्कृतिक सो सुरु गर्ने जानकारी दिए । यसले पर्यटकलाई नेपाली मौलिक संस्कृतिको स्वाद दिने उनको भनाइ छ ।

नेपालसँग कूटनीतिकसम्बन्ध स्थापना भएका मुलुकमा नेपाली लोक संस्कृतिको प्रचार एवम् प्रवद्र्धनका लागि सांस्कृतिक सहचारी नियुक्त गर्न सम्बन्धित निकायसँग पहल थालिने महाप्रबन्धक राईले जानकारी दिए । विभिन्न मुलुकसँग लोक संस्कृति आदानप्रदानका लागि कार्यक्रम आयोजना गर्ने, सार्कस्तरीय सांस्कृतिक महोत्सव गर्ने पनि उनले बताए ।

संस्थानका नियमित कार्यक्रम ‘राष्ट्रिय लोक नाटक महोत्सव’, ‘शास्त्रीय सङ्गीत उत्सव तथा स्रष्टा सम्मान’, ‘अन्तरमावि नाटक प्रतियोगिता’, ‘अन्तरमावि नृत्य प्रतियोगिता’ आदिलाई निरन्तरता दिइने भएको छ । लोपोन्मुख लोक संस्कृतीको खोज अनुसन्धान गरी प्रशिक्षण एवम् प्रस्तुतिमार्फत उजागर गरिने, नयाँ तथा पुराना नाटक नियमित मञ्चन हुने उनले बताए ।

यस वर्षदेखि सातै प्रदेशमा प्रदेशस्तरीय लोक सांस्कृतिक महोत्सव आयोजना गरिने, सांस्कृतिक संस्थानले प्रशिक्षण दिँदै आएका नृत्य, अभिनय, गायन तथा वादन विधाका समयसापेक्ष कोर्स तयार गरी सीटीईभीटीबाट मान्यता प्राप्त गर्न पहल गरिने भएको छ । संस्थानमा डिजिटल शाखा स्थापना गरी ऐतिहासिक एवम् महत्वपूर्ण दस्तावेज डिजिटलाइज गरी ई-लाइब्रेरी तयार गरिने महाप्रबन्धक राईले बताए । संस्थानको पं्रेक्षालयमा हुने प्रत्येक कार्यक्रममा संस्थानको मर्म र भावनामा आँच नआउने गरी सरकारी एवम् निजी क्षेत्रका व्यावसायिक टीभीसी प्रसारण सुरु गरिने पनि उनले बताए ।

सीएम ट्रेडिङ इन्टरप्राइजेज प्रालीले भाडामा लिएको संस्थानको भवनबारे अनगिन्ती जनगुनासो आइरहेकाले त्यसलाई न्यायका आधारमा समयसापेक्ष पुनरावलोकन गरिने महाप्रबन्धक राईले बताए । संस्थानको दायित्वमा रहेको वर्षौदेखीको करोडौं ऋणभारलाई क्रमशः घटाउँदै लगिने उनको भनाइ थियो । ‘जीवनभर काम गरेर अवकास लिएका कर्मचारीले खाली हात घर फर्कनु परेको छ’, महाप्रबन्धक राईले भने, ‘अब त्यो अवस्थाको अन्त्य हुने छ ।’

संस्थानलाई प्रभावकारी र क्रियाशील बनाउन ‘थ्रीइनवान’ प्रणालीका आधारमा काम गरिने, क्रियाशील कर्मचारी एवम् कलाकारको मनोबल उच्च राख्न र मूल्याङ्कन गर्न दैनिक कार्य विवरण र मासिक प्रगति विवरण फारम लागू गरिने भएको छ ।

पत्रकार सम्मेलनमा सांस्कृतिक संस्थान सञ्चालन समितिका अध्यक्ष प्रेमनाथ अधिकारीले संस्थानको समृद्धी एकमात्र चाहना भएको बताए । ‘संस्थानलाई बचाउनु सरकारको पनि दायित्व हो’, अध्यक्ष अधिकारीले भने, ‘केही संस्थानलाई सरकारले करोडौं रुपैयाँ अनुदान दिएको छ । लोक सस्कृतीको संरक्षण प्रवद्र्धन गर्ने निकाय भएकाले सरकारले सांस्कृतिक संस्थानलाई पनि प्राथमिकता दिन जरुरी छ ।’ संस्थानका योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्रभाकरदेव शर्माले अनुभवी कर्मचारी एवम् कलाकार भएकाले चुस्त र पारदर्शी व्यावस्थापन भए संस्थानले गतिलिने बताए ।

यसमा तपाइको मत

अन्य समाचार