काठमाडौं,
माघ ५ ।
नेपाली काँग्रेसले आज सूचना प्रविधि विधेयकको विरोधमा ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट विरोधपत्र बुझाउने भएको छ । संसद्मा लामो समयदेखि सूचना प्रविधि विधेयकको विरोध गर्दै आएको नेपाली काँग्रेसले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत विरोधपत्र बुझाउने कार्यक्रम रहेको नेपाली काँग्रेसले जनाएको छ ।
गत पुस १७ गते बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन गर्न बनेको विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन हुने निष्कर्ष निकालेको थियो ।
सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा नागरिकको स्वतन्त्रता र गोपनियतासहितका मौलिक हकमा असर गर्ने भन्दै काँग्रेसले विधेयकको ९१ देखि ९४ सम्मका बुँदा हटाउनुपर्ने माग गर्दै आएको छ ।






