काठमाडौं,
पुष १७ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० को स्थानीय दशरथ रङ्गशालामा बुधबार साँझ उद्घाटन गर्दै दुई दशकदेखि शिथिल नेपालको आर्थिक सामाजिक अवस्था अब पर्यटनका माध्यमबाट उकास्नुपर्ने बताउनु भएको छ ।
सबैको सहयोग र सहभागिताबाट भ्रमण वर्ष महाभियानका रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै उहाँले यसलाई सफल पार्न सबै नेपालीलाई एक जुट हुन आह्वान पनि गर्नुभयो । पर्यटनलाई आर्थिक आधारका रुपमा लिई मुलुकको योजनाबद्ध पर्यटन विकासमा जोड दिँदै उहाँले यसका लागि स्रोत र साधनको उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘वसुधैव कुटुम्बकमको मान्यताबाट प्रेरित भई विश्व शान्ति, मानवता र भ्रातृत्वका लागि नेपालीहरु एक जुट हुनुपर्छ ।’
राष्ट्रपति भण्डारीले नेपाल उत्कृष्ट पर्यटन गन्तव्य भएको र यहाँ सगरमाथा, लुम्बिनी, चितवन, अन्नपूर्णबाहेक अन्य थुप्रै पर्यटन गन्तव्य भएको बताउँदै पर्यटन विकासका लागि प्राकृतिक, सांस्कृतिक, पर्यावरणीयमैत्री र भौतिक विकास गर्नुपर्नेमा जोड दिनुभयो। पर्यटकलाई देशभित्रै उत्पादन भएका वस्तु खानपान र प्रयोग गराउनुपर्ने सुझाव पनि उहाँले दिनुभएको थियो ।
सो अवसरमा चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पट्टेल, म्यानमाका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौङ, जमैकाका पर्यटनमन्त्री ओन मउङले नेपालमा बढीभन्दा बढी पर्यटक ल्याउन आ–आफ्नो मुलुकले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चिनियाँ सहायकमन्त्री वाङले चीनमा पर्यटन प्रवद्र्धनका कार्यक्रम आयोजना गर्न नेपाललाई आग्रह गर्नुभएको थियो भने भने म्यान्माली मन्त्री मौङले आगामी मार्चमा म्यान्मामा नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने गरी अभियान चालिने जानकारी दिनुभयो । भारतीय राज्यमन्त्री पट्टेलले पशुपतिनाथ र सीतारामका माध्यमले नेपाल र भारतले पर्यटन विकास गर्नुपर्ने बताउँनुभयो । जमैकाका मन्त्री मउङले पर्यटन विकासका लागि नेपालका संस्थाहरुसँग मिलेर काम गरिने जानकारी दिनुभयो ।






