काठमाडौं,
पुष १५ ।
आज तमु ल्होसारः देशभरका गुरुङ समुदायले विविध कार्यक्रम गरी मनाउँदै छन् । प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँने गर्दछन् ।
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवम् नाचगान गरेर यो पर्व मनाइन्छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा यो पर्व मनाइदै छ । यस अवसरमा आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ ।
आज अपरान्ह १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले तमुल्होसार मूलसमारोहद्वारा टुँडिखेलमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ । यसैगरी कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई, महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलगायत व्यक्तित्वले पनि सम्बोधन गर्नुहुने जनाइएको छ ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाउन शुरु गरिएको विश्वास गरिन्छ ।






