काठमाडौं,
पुष १२ ।
गीतकार सङ्घ नेपालको दशौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा शुक्रबार साधारण सभा सम्पन्न भएको हो ।
वरिष्ठ गीतकार यादव खरेलको प्रमुख आतिथ्यमा भएको सभामा अग्रज गीतकारहरु राजेन्द्र थापा, जगतमर्दन थापा, एस्पी कोईराला, विश्वबल्लभ, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार विष्णुकुमारी फुँयाल ‘भट्टाराई’, अग्रज सङ्गीतकार शक्ति बल्लभ, विश्व कीर्तिमानी गीतकार डा. डी. आर. उपाध्यायलगायत सङ्घका कार्यसमिति सदस्य, साधारण सदस्य, सङ्गीत क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घ-संस्थाका पदाधिकारी एवम् प्रतिनिधिका साथै सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथिहरुले सङ्घले गरेका कार्यहरुको प्रशंसा गर्दै बधाई तथा शुभकामना दिएका थिए ।
सङ्घका अध्यक्ष चूडामणि देवकोटाको सभापतित्व र सङ्घकी सचिव सुशीला पौडेलद्वारा सञ्चालित सो कार्यक्रममा उपाध्यक्ष शुभ मुकारुङले अतिथिहरुको स्वागत गरेका थिए । कार्यक्रमलाई उद्घाटनसत्र र वन्दसत्र दुई चरणमा विभाजन गरिएको थियो ।

सङ्घका कोषाध्यक्ष अमृतलाल सुनुवार देवकोटाले ०७५ साउन १ देखि ०७६ असार मसान्तसम्मको आम्दानी र खर्चको विवरण सहितको आर्थिक प्रतिवेदन पेश गरेका थिए । यसैगरी सङ्घका महासचिव वसन्त बित्यासी थापाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै सम्पन्न भएका बार्षिक कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।
सङ्घको गतबर्ष सम्पन्न साधारण सभा तथा चौथो अधिवेशनले २ बर्षका लागि अध्यक्षमा चूडामणि देवकोटा, उपाध्यक्षमा शुभ मुकारुङ, महासचिवमा वसन्त वित्यासी थापा, सचिवमा सुशीला पौडेल, कोषाध्यक्षमा अमृतलाल सुनार देवकोटा र सदस्यहरुमा बालक गुरुङ, वसन्त थाम्सुहाङ, रमेश कोईराला, जे. बी. संयोगी, चन्द्रा चाम्लिङ र सुवास सङ्गम राईलाई निर्वाचित गरेको थियो । सङ्घमा हाल १ सय ४३ आजीवन र ३ सय ५७ साधारण गरी ५ सय सदस्य रहेका छन् ।






