काठमाडौं,
पुष ६ ।
बिहिबार सार्वजनिक भएको चलचित्र ‘आमा’को ट्रेलरले युटुब ट्रेन्डिङको नम्बर १ स्थानमा पकड जमाएको छ । मिथिला शर्मा, सुरक्षा पन्तलगायतका कलाकारले अभिनय गरेको चलचित्रको ट्रेलरलाई दर्शकले रुचाएका छन् । धेरै दर्शकले चलचित्रको ट्रेलरले नै रुवाएको प्रतिक्रिया समेत दिएका छन् ।
निर्देशक तथा लेखक दीपेन्द्र के खनाल भन्छन्-‘दर्शकबाट पाएको प्रतिक्रियाले हामीलाई उत्साहित बनाएको छ । तर, ट्रेलर रिलिज भएपछि दर्शकको अपेक्षा निकै बढेको छ । दर्शकको अपेक्षा अनुसारको चलचित्र पस्किनका लागि हामीले मिहिनेत गरेका छौ भन्ने लाग्छ ।’
शर्मिला पाण्डे निर्मित यो चलचित्रले एउटा ‘आमा’ले घर परिवार र सन्तानका लागि गर्ने सङ्घर्ष र पीडाको कथा भन्छ । चलचित्र फागुन ९ गतेदेखि देशभरका सिनेमाघरमा आउँदै छ ।






