सम्पदा र शान्ति

सदैव र सर्वत्र आवश्यक ठानिने ‘शान्ति’को अनुभूति हाम्रा सम्पदाहरुको ज्ञान र अवलोकनले गराइरहन्छन् । काठमाडौं उपत्यकालगायत मुलुकमा रहेका हाम्रा प्राचीन सम्पदाहरुको अवलोकन गर्न संसारभरका पर्यटकहरु नेपाल आउने गरेका छन् । हामी यहींका निवासीहरुले हाम्रो सम्पदाहरुका बारेमा जानकारी राख्नाले आत्मीक शान्तिका साथै पुर्खाहरुको गौरव तथा आर्थिक समृद्धिमा पुर्याउने योगदानका बारे पनि थाहा पाउन सकिन्छ । दस वर्षे द्वन्द्वबाट भएको जनधनको क्षति पुनः नदोहरिऊन् भन्नका लागि हाम्रा सम्पदाहरुलाई शान्ति शिक्षाको स्रोतको रुपमा उपयोगमा ल्याउनु पर्दछ ।

– केशवप्रसाद चौलागाईं

लुभु महालक्ष्मी मन्दिर ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका, वडा नं. ८ स्थित प्राचीन सम्पदाको रुपमा अवस्थित छ । प्राचीन शहरको रुपमा रहेको यस लुभु शहर धार्मिक, साँस्कृतिक रुपमा पनि महत्वपूर्ण रहेको छ । यसै मन्दिरको नाउँबाट नगरपालिकाको पनि नामाकरण हुनुले यस मन्दिरको प्रभावलाई बुझ्न सकिन्छ । मन्दिर निर्माण र सञ्चालनमा ज्ञान र आस्था पनि जोडिने हुनाले यही ज्ञान र अस्थालाई द्वन्द्व रुपान्तरण र शान्तिका लागि स्रोतको रुपमा प्रस्तुत गर्दै शान्ति शिक्षाको अनुपम उदाहरण बनाउन सकिन्छ । आठ वटा ढोका, आठ वटा पोखरी, आठ वटा पार्टी अनि आठ वटा हिटी रहेको थियो भन्ने कुराले अष्टमातृकाद्वारा रक्षित देखिन्छ । शहर बस्तीको रक्षा दैवी शाक्तिबाट गराउने ज्ञान द्वन्द्व व्यवस्थापनका लागि नवीन प्रसङ्गहरु हुन् । संयुक्त राष्ट्र सङ्घको स्थापना पश्चात् पनि विश्वभर द्वन्द्वहरु भइरहेको दृष्टान्तले आज पनि द्वन्द्व व्यावस्थापन महत्वपूर्ण कार्यको रुपमा रहेको छ । विभिन्न विश्वविद्यालयहरुमा द्वन्द्व व्यवस्थापन र शान्ति शिक्षाको पठन पाठन भइरहेको परिप्रेक्ष्यमा नेपालले प्राचीन सम्पदाहरुको ज्ञान र अभ्यासका आधारमा पाठ्यक्रम निर्माण गर्न सक्दछ ।

द्वन्द्व मानिसको विचारबाट उत्पन्न हुने हुँदा विचारलाई शान्तिमय बनाइराख्न हाम्रो सम्पदा र ज्ञानले मद्दत गर्दछन् । जीवन र समाजको विकासक्रममा असहज परिस्थिति उत्पन्न हुँदा अन्यायमा पर्दा, गरिबीलगायतका विविध कारणहरुले द्वन्द्वको स्थिति उत्पन्न गराउँछ । तर, समाधानका लागि शान्तिपूर्ण तरिका अपनाउन प्राचीन सम्पदाहरुले प्रेरित गरिरहन्छन् । सबैले आफ्नो ठान्ने स्वराज्य र शान्तिपूर्ण समाधानका लागि मेलमिलापको सन्देश हाम्रा सम्पदा र परम्पराहरुले वर्ष–दिनभरि नै दिइरहेका छन् । वर्ष–दिनभरि नै चाडपर्व तथा महत्वपूर्ण तिथीहरुमा भेटघाट, चर्चा–परिचर्चा भइरहने परम्परा मेलपिलाप तथा शान्ति परम्परा हुन् । तिथी–पर्वमा द्वन्द्व नगरौं भन्ने अभियान धार्मिक प्रभाव रहेको नेपालबाट विश्वमा प्रचारित गर्दै वर्ष–दिनभरि नै शान्तिको दिनको रुपमा स्थापित गराउन सक्नेछौं ।

वर्ष–दिन नै शान्ति दिन
नेपाली पात्रोअनुरुप प्रारम्भ हुने नयाँ वर्षदेखि वर्षभरि नै हरेक दिन विचार र आस्थाका हिसाबले महत्वपूर्ण दिन पर्दछन् । आइतबार सूर्यको प्रार्थना, सोमबार शिवको, मङ्गलबार गणेश, बुधबार नारायण, बिहीबार बङ्गलामुखी, शुक्रबार बुद्ध, महालक्ष्मीलगायतका देवी, शनिबार शनिदेवको दिनको रुपमा प्रार्थना गर्दै मनलाई शान्त पार्दछौं । महत्वपूर्ण अन्य तिथी, पर्व, नाच, जात्राहरु पनि मेलमिलापका आधार भएकाले तीन सय पैंसठ्ठी दिन नै शान्ति दिनको रुपमा मनाउने नेपाली परम्परा द्वन्द्व रुपान्तरणका भरपर्दो आधार हुन् । १० वर्षे सशस्त्र द्वन्द्वका बेला विद्रोही पक्षले दशैं–तिहार, छठलगायतका पर्वमा एकतर्फी युद्धविराम गर्ने गरेको कुराले पनि हाम्रा चाडपर्वको महत्वलाई बुझ्न सकिन्छ । मठमन्दिर, बौद्धविहार, गुम्बालगायतका सम्पदाहरुमा चाडबाड-जात्रामा हुने उपस्थिति द्वन्द्व रुपान्तरण र शान्ति स्थापनाका लागि जनदबाव पनि हुन् । सम्पदासँग जोडिएको हाम्रो तिथी, पर्व र धार्मिक पर्यटन शान्ति तथा समृद्धिका प्रतिक हुन् ।

युनेस्कोको मान्यता प्राप्त सम्पदाहरु विश्व पहिचान र राष्ट्रिय अखण्डताका पनि धरोहर हुन् । लुभु महालक्ष्मीका साथै प्राचीन गोभ्रातेश्वर महादेव मन्दिर, नारायण मन्दिर, लाछी गणेश मन्दिर, लाछीको चैत्यहरुले किरातकालीन, मल्लकालीन सम्पदाहरुको परिचय दिइरहेका छन् । नौ पीठ परम्पराअनुरुप स्थापित लुभु शहर र महालक्ष्मी मन्दिर शास्त्रीय ज्ञान र सिद्ध परम्पराको पनि ज्वलन्त उदाहरण हुन् । ॐ महालक्ष्मै चविद्महे सर्वशक्त्यै च धीमही÷ तन्नो देवी प्रचोदयात मन्त्रको साधनाले वेदकालीन सिद्ध परम्परालाई अभ्यासमा ल्याइरहेको प्रमाणित हुन्छ । प्रत्येक दिन र विशेष तिथी, पर्व, जात्रामा महालक्ष्मीको दर्शन गर्ने परम्पराले द्वन्द्वतर्पm मानिसको ध्यान नगई शान्ति र मेलमिलापतर्पm अग्रसर गराइरहेको छ । शान्ति शिक्षाको केन्द्रको रुपमा कार्य गरिरहेको छ ।

हाम्रो सम्पदा र शान्ति
राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका मानिसहरु ललितपुरका प्राचीन सम्पदाहरुको अवलोकन गरेर मनलाई शान्ति दिलाउन खोज्दछन् । हाम्रा सम्पदाहरुको अवलोकनका साथै ज्ञानका बारेमा पनि जानकारी लिएर जीवनभर शान्ति र आनन्दको अनुभूति गरिरहन्छन् । काठ र ढुङ्गामा कुदिएको सुन्दर स्वरुपहरुले उच्च कलाकारिताको परिचय दिइरहेका छन् भने भव्य दरबार र मन्दिरहरुले ज्ञान र समृद्धिको युनेस्कोको प्राचीन सम्पदाहरुको सूचिमा सूचिकृत रहेको पाटन दरबर क्षेत्रलगायतमा अन्य क्षेत्रहरु हाम्रो गौरबका पनि प्रतिक हुन् । हाम्रा पुर्खाहरुको ज्ञान र प्रयासले सारा संसारलाई आकर्षित गराउन सफल हाम्रा सम्पदाहरु धार्मिक पर्यटन, समृद्धि र शान्तिका पनि स्रोत हुन् । दस वर्ष द्वन्द्वको पीडा भोगेको हाम्रो मुलुकले पुनः पीडा भोग्नु नपरोस् भन्दै शान्ति शिक्षाका लागि सम्पदाहरुको अवलोकन भ्रमणले महत्पूर्ण योगदान पुर्याइरहेको छ ।

आठ वटा मणीको मान्यताले पनि पाटन दरबार क्षेत्र सबैको आकर्षण र चासोको विषय बनेको पाइन्छ । मणी गणेश, मणी केशवनारायण, मणी गुफा, मणी छें, मणी हिटी, मणी चैत्य, मणी केश्वर शिव आठवटा मणीको अवस्थितिले सम्पदा र ज्ञानको संयोजनलाई बुझ्न मद्दत गर्दछ । काठमाडौं उपत्यकाको तीन शहर काठमाडौं, भक्तपुर र ललितपुरमध्ये ललितपुर प्राचीन शहर हो । यो शहर बरदेवले स्थापना गराएका थिए । पाटन दरबारको जग कसले हालेका थिए भन्ने एकिन प्रमाण नभए तापनि सन् १०२४-१०४० सम्मको अवधिमा लक्ष्मीकामदेवले गरेको किंवदन्ती पाइन्छ ।

प्राचीनकालमा यस शहरलाई युपग्राम, यल, मलिङल, ललितापुरीको रुपमा पनि पुकारिन्थ्यो । दरबार भित्र निर्मित कलात्मक चोकहरु पनि अवलोकनिय रहेका छन् । खुल्ला सङ्ग्रहालयको रुपमा रहेको पाटन दरबार क्षेत्र खुल्ला शान्ति विश्वविद्यालयको रुपमा शान्तिवादी, आध्यात्मिकहरुले बुझ्दछन् । यस क्षेत्रको कलात्मक एक्काईस गजुरसहित निर्मित कृष्ण मन्दिरमा कुदिएका महाभारतका कथासहितका चित्रले युद्ध र शान्तिका बारे शिक्षा दिइरहेका छन् । सबैलाई थाहा भएकै कुरा द्वापरयुगमा भएको महाभारतको युद्धमा ठूलो नरसंहार भएको थियो । सत्ता प्राप्तिका लागि भएको पाण्ड र कौरबबीचको युद्धमा स्वयम् भगवान् कृष्णको उपस्थिति भएकै बेलामा पनि युद्ध टार्न र मेलमिलाप गराउन नसकी लाखौंको मृत्य भएको कुराले स्वराज्य र मेलमिलापको महत्व सहजै बुझ्न सकिन्छ । सबैले आफ्नो ठान्ने स्वराज्य र शान्तिका लागि मेलमिलापको आवश्यकतालाई कृष्ण मन्दिरमा कुदिएका चित्रहरुद्वारा बुझ्न सहज बन्दछ ।

असत्य र अन्यायमाथि सत्य र न्यायको विजय हुने कुराको पनि ज्ञान हाम्रा सम्पदाहरुले दिइरहेका छन् । दुष्ट राजाको रुपमा सज्जनहरुलाई दुःख दिने हिरण्यकस्यपुलाई सङ्घार गर्न नरसिंह अवतार भएको कुरालाई बोध गराउन नरसिंहको ठूलो मूर्तिले मद्दत गरिरहेको छ । साथै, अमूर्त सम्पदाको रुपमा कार्तिकनाचले पनि दस अवतारमध्ये नरसिंह अवतार सत्य हो भन्ने कुरा प्रमाणित गर्दछ । जीवन्त कार्तिकनाचले सृष्टि र अवतारको उद्देश्य स्पष्ट पार्दै शान्ति शिक्षा प्रदान गर्ने परम्पराले खुल्ला विश्वविद्यालयको रुपमा सहयोग पुर्याइरहेको छ । सृष्टि र पञ्चतत्वको महत्वलाई गणेश, शिव, नारायण, देवी र सूर्य भगवान्को उपस्थितिले बुझाइरहेको छ । सृष्टि, ज्ञान र सम्पदाका कारण ललितपुर दरबार क्षेत्र शान्ति शिक्षाको खुल्ला विश्वविद्यालयको रुपमा स्वीकार्य बन्दै गइरहेको छ । यहाँका पाटी (फाल्चा) चैत्य, विहार, घण्ट, धारा, वाहःहरुले पनि ज्ञान र शिक्षा प्रदान गर्दछन् । शहरका चार सीमामा रहेका अशोकचैत्यहरु, देवीहरु सुरक्षालाई बोध गराउने आधार हुन् । सृष्टि, अवतार र सुरक्षा अवधारणलाई शान्ति शिक्षाको रुपमा बुझ्न र बुझाउने स्रोतको रुपमा यहाँका सम्पदाहरु रहेछका छन् ।

दस महाविद्याको अवस्थिति, मत्स्येन्द्रनाथको अवस्थिति हिरण्यवर्णमहाविहारको अवस्थितिले शान्ति, मेलमिलाप र सहिष्णुताको शिक्षा प्रदान गर्दछन् । यज्ञन द्विषन्तो मित्रा भवन्ति अर्थात् यज्ञद्वारा शत्रु पनि मित्र बन्दछ भन्ने उपनिषद्को कथनलाई ‘अग्निशाला’को अवस्थिति र परम्पराले पुष्टि गराइरहेको छ । मेलमिलापको परम्परालाई अग्निशाला र अग्निहोत्रीको ज्ञान-साधनाले सार्थक तुल्याइरहेको कुरा शान्ति शिक्षाका अनुसन्धानकर्ताहरुका लागि अनुसन्धानको विषय हो । नृत्येश्वर, भीमसेन मन्दिर, बाजाहरु र गुठी परम्पराले नेवारी संस्कृति तथा शान्ति र समृद्धिमा उनीहरुको योगदानलाई पनि बुझ्न सहयोग पुर्याउँदछ । हामी सबैका लागि शिक्षाप्रद हाम्रा सम्पदाहरु स्वराज्य र मेलमिलापका प्रतिक हुन्, आदर्श हुन् । चर्या नृत्य, मच्छेन्द्रनाथको यात्रा, दिपङ्ख यात्रा, मतःया पर्वलगायतका विविध ऐतिहासिक परम्परा शान्ति र मेलमिलापका परम्परा हुन् ।

(मिलापको मंसिर अङ्कबाट)

यसमा तपाइको मत

अन्य समाचार