पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार झापा जाँदै

काठमाडौं,
पुष १ ।

पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिमाञ्चल क्षेत्रको भ्रमणबाट फर्किएको करिब तीन सातापछि पूर्वाञ्चल भ्रमणमा निस्कन लागेका छन् । उनी पूर्वरानी कोमल र निजी सचिव सागर तिमल्सिनाका साथ बुधबार २ गते झापा जान लागेका हुन् ।

करिब एक महिना लामो बसाइका निम्ति झापा जान लागेका ज्ञानेन्द्रले विभिन्न मठ-मन्दिरमा दर्शन र पूजाआजा गर्ने कार्यक्रम रहेको छ । ११ बजे बुद्ध एयरको जहाजबाट भद्रपुर जाने कार्यक्रम रहेको छ । सुरक्षा बन्दोबस्तीका लागि उनका अंगरक्षक सशस्त्र प्रहरीका डीएसपी राजन गुरागाईंसहितको टोेली झापा पुगिसकेको छ ।

करिब २५ जनाको कन्भे टोली आइतबार झापा पुगिसकेको छ । आफ्नो स्वामित्वमा रहेको हिमालय टि स्टेटमा बस्ने गरी पूर्वाञ्चल भ्रमणमा निस्कन लाग्नुभएका ज्ञानेन्द्रले त्यहाँ राप्रपाका उच्च तहका नेतालाई समेत भेट्ने कार्यक्रम रहेको छ ।

स्रोतका अनुसार उनको भ्रमण सफल पार्न राजधानीबाट समेत केही टोली झापा जाने भएको छ। उनले विभिन्न दर्जाका नेता, पूर्वराजावादी युवा संघ-संगठन विश्व हिन्दू युवा संघलगायतका संघ–संगठनका नेता र कार्यकर्तासमेत भेट्ने कार्यक्रम रहेको छ ।

‘अहिलेसम्म कुनै पनि कार्यक्रम सार्वजनिक भएको छैन, यहाँ आएपछि सबै कार्यक्रम सार्वजनिक होला ।’ -स्रोतले भन्यो । झापा बसाइसँगै उनले पूर्वका विभिन्न जिल्लाको समेत भ्रमण तय गरेका छन् । पूर्वराजाको निजी सचिवालयले उहाँको निजी भ्रमण भएको जनाएको छ । तर, आफ्नै स्वामित्वमा रहेको टि हाउसमा बस्दा उहाँले राजावादीसँग भेट गर्ने कार्यक्रम रहेको छ । नेपाल समाचारपत्र दैनिक

यसमा तपाइको मत

अन्य समाचार