काठमाडौं,
मंसिर ३० ।
सञ्चारकर्मी फूलमान वल निर्देशित चलचित्र ‘नीरफूल’ फागुन ३० गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको छ । गत भदौ २७ गते रिलिज मिति तोकेको चलचित्र ‘नीरफूल’ले नयाँ रिलिज मिति तय गरेको हो ।
फिल्म पोस्ट प्रोडक्सनको ढिलाईको कारण रिलिज मिति पछि सरेको बताइएको छ । भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको हो ।
चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् ।
चलचित्रको पटकथा निर्देशक वल स्वयम् र सचिन घिमिरेले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । निर्देशक वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय सङ्घर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए । अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति चलचित्रमा बोनसको रुपमा हुने उनको दावी छ ।
फ्रेण्ड्स अफ नेपाल-म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको चलचित्रको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन् । निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठलगायत छन् ।
प्रमोद कार्कीको छायाँकन, अर्जुन पोखरेलको सङ्गीत रहेको चलचित्रको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।






