काठमाडौं,
मंसिर २७ ।
चलचित्र ‘सेल्फी किङ्ग’को पोष्टर र टिजर पछी निर्माण टिमले ‘जाली रुमाल’ गीत सार्वजनिक गरेको छ । सार्वजनिक लोक शैलीको गीतमा ‘सेल्फी किङ्ग’ उर्फ विपिन कार्कीसँगै केकी अधिकारी र भीमफेदी गाईज फिचर्ड छन् ।
कथाअनुसार नै चलचित्रमा आउने गीतमा कार्यक्रमको माहोल लाई देखाइएको छ । गाउँमा आयोजित एक सांस्कृतिक कार्यक्रमको माहोललाई गीतमा देखाइएको छ ।
गीतमा बी पाण्डेको शब्द, सुभाष भुसालको सङ्गीत रहेको छ भने अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर रहेको छ । गीतलाई भीमफेदी गाइजकै निर्मल लामाले कोरियोग्राफ गरेका हुन् ।
सोलुको सल्लेरीमा छायाँकन गरिएको गीतमा केकी कलाकारकै रुपमा सांस्कृतिक कार्यक्रममा सहभागी भएकी हुन् । जहाँ विपिन हाँस्यकलाकारको रुपमा उपस्थित छन् । गीत मन परेकै कारण केकीले गीतमा मात्र भए पनि देखिन तयार भएकी हुन् ।
‘सेल्फीकिङ्ग’ नामले परिचित एक चर्चित हाँस्यकलाकार (टेलिभिजन)ले कलायात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवन बीचको सन्तुलन मिलाउन गर्ने सङ्घर्षको कथा यसमा देखाइने छ ।
ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको यो चलचित्र लाई बिशाल सापकोटाले निर्देशन गरेका हुन् । उनको यो डेब्यु चलचित्र हो । चलचित्रमा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहको छ भने अभिनेत्री केकी अधिकारीले एक गीतमा अभिनय गरेकी छिन ।
गत वर्षको सफल चलचित्र ‘प्रसाद’का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा यस चलचित्रलाई निर्माण गरेका हुन् ।
चलचित्रमा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुसालको सङ्गीत, बी. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको सङ्गीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, हिमाल केसीको द्वन्द्व, उत्तम न्यौपानेको साउण्ड डिजाइन, जीवन थापाको सम्पादन र कलर करेक्सन, बिनोद पौडेलको स्टील फोटोग्राफी र साजन थापाको कला निर्देशन रहेको छ । चलचित्रका सहनिर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका हुन् ।






