काठमाडौं,
मंसिर २६ ।
लिम्बु भाषिक अवार्ड ‘एफएलएफ अवार्ड २०७६’ को मनोनयन पत्र वितरण गरिएको छ । लिम्बु भाषामा बनेको लिम्बु चलचित्र तथा म्युजिक भिडियोको यो संयुक्त अवार्डको मनोनयन पत्र राजधानीमा एक कार्यक्रमकाबीच वितरण गरिएको हो ।
२४ विधामा मनोनयन पत्र वितरण गरिएको थियो । मनोनयनअनुसार निर्देशनमा किशोर सुब्बा, लोकेन सावा, सागर केरुङ मनोनयनमा परेका छन् भने नायकमा नरेन्द्र सेन्दाङ, सविन तुम्वाहम्फे, रुद्र पाहिम लिम्बु, भिम तुम्वाहम्फे मनोनयनमा छन् ।
त्यसैगरी नायिकामा मनोनयन हुनेहरुमा पुष्पा लिम्बु, बबिता फोम्बो, लक्ष्मी योङहाङ, दिव्या लिम्बु छन् । हस्त लिबाङ, अशोक राई, कुल्बा सुब्बा संगीत विधामा मनोनित भएका छन् । यस्तै गायनमा सुसन साम्सोहाङ, मनु नेम्वाङ, दीपा सुहाङ, मनि ताम्लिङ मनोनयनमा पर्न सफल भएकाछन् ।
भोटिङसहितको परिणाम पछि अवार्ड वितरण गरिने उक्त अवर्ड वितरण कार्यक्रम आगामी पौष २३ गते राष्ट्रिय सभागृह हलमा हुने आयोजकले जनाएको छ । यस मनोनयन कार्यक्रममा पत्रकार उदयराज शर्मा र एम पी सुब्बालाई सम्मान गरिएको थियो ।
भाषा, संस्कृति, कला, साहित्यको विकास विस्तार गर्ने ध्येयका साथ फाल्गुनन्द लिङदेन फिल्म्स्ले हरेक वर्ष यो अवार्ड गर्दै आएको छ ।






