काठमाडौं,
मंसिर १३ ।
आजदेखि देशभरका सिनेमाघरमा तीन चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि चलचित्र ‘सरौतो’, ‘लभ यू हमेशा’ र ‘मखमली मखमली’ देशभरका सिनेमाघरमा आएका हुन् ।
‘सरौतो’ छायाँकारका रुपमा सुपरिचित हरि हुँमागाईको निर्देशकीय डेब्यू चलचित्र हो। एक्सन-लभस्टोरी जनरामा निर्माण भएको चलचित्रमा सुमी मोक्तान शिर्ष भूमिकामा छिन् ।
चलचित्रका लागि सुमीले दुई बर्ष मार्शल आर्टको तालिम लिएकी थिइन् । त्यस्तै ७ महिना साङ्केतिक भाषाको तालिम लिएकी थिइन् । चलचित्रमा सुमीसँगै विजय बराल, सन्नी सिंह, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, सम्पदा दाहाल, अरुणा कार्कीलगायतका कलाकारहरुले अभिनय रहेको छ ।
बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा चलचित्र निर्माण भएको हो । राघव कृष्ण गौतमको लेखन रहेको चलचित्रले बदलाको कथा भन्छ । चलचित्रमा उत्तम हुमागाईंको छायाँकन, शंकर महर्जनको एक्सन तथा निमेष श्रेष्ठको सम्पादन रहेको रहेकोे छ ।
यस्तै आजदेखि प्रदर्शनमा आएको चलचित्र ‘लभ यू हमेशा’ त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको चलचित्र हो । चलचित्रलाई भाष्कर प्रधानले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा यशराज गराच, फिजा योञ्जन, ऋचा थापा, शिशिर राणा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठलगायतको मुख्य भूमिका रहेको छ ।
त्यस्तै ‘मखमली मखमली’ राजु गिरीको निर्देशनमा बनेको चलचित्र हो । सावित्रा चिलुवालले निर्माण रहेको चलचित्रलाई नारी प्रधान भनिएको छ । चलचित्रमा जयकिशन बस्नेत, शुभेच्छा थापा, शारदा गिरी, सविन वास्तोला, परि तामाङ, सरोज दाहाललगायतका कलाकारहरुको अभिनय रहेको छ ।






