‘आधार भाग २’ लिएर आइन आस्था राउत

काठमाडौं,
मंसिर १३ ।

आस्था राउतको दोस्रो एल्बम ‘आधार भाग २’ सार्वजनिक भएको छ । म्युजिक नेपालले उत्पादन गरेको एल्बमलाई बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, सङ्गीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बाबु हरिबहादुर राउत र आमा साबित्री राउतलगायतले एल्बम सार्वजनिक गरेका छन् ।

कार्यक्रममा कलाकार हरिवंशले आस्थासँग आफूले चलचित्र ‘छक्का पन्जा २’को एक गीत ‘झ्याम्म झ्याम्म’मा सहकार्य गर्न पाएको स्मरण गर्दै आस्थाको स्वर भिन्न रहेको दाबी गरे । त्यस्तै कलाकार मदनकृष्णले कम उमेरमै आस्थाले नेपाली साङ्गीतिक क्षेत्रमा गरेको प्रगति देखेर आफूलाई खुशी लागेको बताए ।

आस्थाका साङ्गीतिक गुरु सङ्गीतकार सुरेश अधिकारीले आस्था जस्तो सुकै फ्लेभरको गीत पनि गाउन सक्ने प्रतिभाशाली गायिका भएको बताए । आस्थाका पिता हरिबहादुरले आफूलाई आस्थाको पिता भनेर चिनाउन पाउँदा खुशी लाग्ने बताए ।
एलबममा ‘दशैँ आयो तिहार आयो’, ‘कलधारा’, ‘हवाइजहाजको टिकट’, ‘सिमाना’, ‘राम साइली’, ‘नाकैमा फूलि’, ‘को छ यहाँ र झलझल गर्ने’ जस्ता बोलका गीत छन् । यी गीतमध्ये ‘को छ यहाँ’ बोलको गीतमा आस्थाकी आमा साबित्री राउतको शब्द रहेको छ । बाँकी ७ वटा गीतमा सुरेश अधिकारीको शब्द र सङ्गीत छ ।

कार्यक्रममा ‘नाकैमा फुली’ गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । शान थापाले निर्देशन गरेको भिडियोमा आँचल शर्मा र महेश खड्का फिचर्ड छन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र अनिल के मानन्धरको छायाँकन छ । ‘आधार भाग २ ’मा रहेका गीतमध्ये ‘दशैँ आयो तिहार आयो’बोलको गीतको भिडियो म्युजिक नेपालको युट्यूव च्यानलका साथै मुभी एण्ड मस्ती र नेपाल अनडिमाण्ड एपमा सुन्न र हेर्न सकिन्छ ।

आस्थाको पहिलो एलबम ‘आधार’ का गीतहरू ‘खै त मलाई झुम्के बुलाकी’, ‘चौबन्दी पटुकी’ लोकपृय गीत हुन् । आस्था हाल टेलिभिजन गायन रियालिटी शो ‘दी भ्वाईस अफ नेपाल’ सिजन २ को एक निर्णायक पनि हुन् ।

तस्बिरः योगप्रसाद विमली

यसमा तपाइको मत

अन्य समाचार