‘क्रोधकला शिरोमणि कालु कुमाले’ बजारमा

ललितपुर,
मंसिर १३ ।

८७ वर्षीय प्रसिद्ध परम्परागत मूर्तिकार कालु कुमालेको कृतित्व र व्यक्तित्व झल्किने पुस्तक ‘क्रोधकला शिरोमणि कालु कुमाले’ बजारमा आएको छ । हात्तिवनस्थित कालु आर्टस् एण्ड ह्याण्डिक्राफ्टमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, प्रतिनिधिसभाका सदस्य कृष्णलाल महर्जन, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा मूर्तिकार कालु कुमालेले उक्त पुस्तक संयुक्तरुपमा विमोचन गरे ।

उक्त कार्यक्रममा वाङ्मय शताब्दी पुरुष जोशीले कुमालेका कला निकै उत्कृष्ट रहेको बताए । उनले भने, ‘कलामा नेपालको आफ्नैपन र शैली छ । कहीकतैबाट आयातित छैन । शैली र विषयवस्तुका दृष्टिले निकै ओजपूर्ण कलाकृति मूर्तिकार कालु कुमालेले बनाउँदै आउनुभएको छ । उहाँका कलाकृति उत्कृष्ट छन् ।’

जोशीले राष्ट्रका निम्ति यस्ता कुमालेजस्ता प्रतिभा गौरव गर्नलायक रहेको जनाउँदै राज्यले उचित सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कला र संस्कृतिको जर्गेना गर्न महानगर लागेको बताए । उनले कला र कलाकारको सम्मानका निम्ति महानगरले विभिन्न कार्ययोजना ल्याएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘कालु कुमालेजस्ता प्रतिभाको उचित सम्मान र कदर गर्न महानगरले कुनै कसुर बाँकी राख्दैन ।’ महानगर प्रमुख महर्जनले कुमाले ललितपुर महानगरकै गौरव भएको बताए ।

कुमालेले ललितपुरको मात्रै नभएर देशकै इज्जत र गौरव बढाएको प्रतिनिधिसभा सदस्य कृष्णलाल महर्जनले बताए । उनले भने, ‘राष्ट्रकै शिर उँचो बनाउने कलाकारको मान सम्मानमा राज्यले उचित पहल लिनुपर्दछ । क्रोधकला शिरोमणि कालु कुमालेका कलाकृतिको उचित संरक्षण तथा प्रवद्र्धनमा समेत राज्यले काम गर्नुपर्दछ ।’

पुस्तकमाथि टिप्पणी गर्दै ललितकला परिषद् नेपालका संयोजक देवेन्द्र थुम्केलीले कालु कुमालेको जीवनी, कृतित्व तथा मूर्तिकलाका विविध पक्ष समेटिएको बताए । उनले भने, ‘पुस्तकमा कुमालेले बनाएका दुर्लभ र अधिकांश मूर्तिका तस्बिर राखिएको छ । त्यस्तै, विभिन्न विद्वान, कलाकार, लेखकले कुमालेका बारेमा लेखेका लेखरचना समेटिएको छ ।’ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले कुमालेको बारेमा पुस्तक प्रकशित गरेर प्रतिष्ठानले कलाकारको सम्मान गरेको बताए । उनले भने, ‘प्रतिष्ठानले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट मानार्थ सदस्यद्वारा सम्मानित कलाकार कुमालेको कलायात्रा समेटेर पुस्तक प्रकाशन गरेको हो । पुस्तकले कुमालेको कलायात्रासँगै नेपाली कलालाई नजिकबाट बुझ्न निकै सहयोग पुग्ने विश्वास लिएका छौं ।’

उनले नेपाली ललितकला क्षेत्रका मूर्धन्य कलाकार एवम् वरिष्ठ मूर्तिकार कालु कुमालेले बनाएका असंख्य मूर्तिहरु स्वदेशमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सङ्ग्रहित रहेको बताए । उनले थपे, ‘यो सम्पूर्ण ललितकलाकर्मीको लागि गौरवको विषय हो भन्ने मैले महसुस गरेको छु । कुनै औपचारिक शिक्षा हासिल नगरिकन र कलासँग सम्बन्धित संघ–संस्थाबाट कुनै प्रकारको तालिम नलिइकन ठूलो त्याग, तपस्या, मिहिनेत, परिश्रम र निरन्तर साधनारत् रहेकै कारण उहाँले क्रोधकला शिरोमणिको उपाधि दिइएको हो ।’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवम् हस्तकला विभाग प्रमुख धर्मराज शाक्यले प्रतिष्ठानले नेपालकै गर्व गर्ने कलाकारका बारेमा पुस्तक प्रकाशित गरेको बताए । उनले कला र संस्कृतिको विकास, संरक्षण र प्रवद्र्धनका लागि प्रतिष्ठानले काम गरिरहेको सुनाउँदै भने, ‘क्रोधकला शिरोमणि कालु कुमालेको समग्र व्यक्तित्व र कृतित्व बुझ्न पुस्तक निकै उपयोगी हुनेछ ।’

पुस्तक सम्पादनमण्डलका सदस्य राकेश अवालेले नेपाली मूर्तिकलाका क्षेत्रमा कुमालेले अतुलनीय योगदान दिएको बताए । उनले कुमालेको जीवनयात्रालाई बुझ्न पुस्तक उपयोगी हुने भनाइ व्यक्त गरे ।

८७ वर्षीय शान्त स्वभावका कुमालेले क्रोधमूर्तिबाट विश्वमै प्रसिद्धी कमाएका छन् । पाटनको ओकुवहालमा जन्मिएका कुमालेले बनाएका मूर्ति देश विदेशका विभिन्न मठ–मन्दिर, गुम्बा, संग्रहालय लगायतका स्थानमा सङ्ग्रहति छन् । पुस्तक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार