काठमाडौं,
मंसिर १ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको कालापानी क्षेत्रको नेपाली भूमि फिर्ता गरेरै छाड्ने बताएका छन् ।
आइतबार राष्ट्रिय युवा सङ्घ नेपालको राष्ट्रिय एकता भेलालाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतले मिचेको नेपाली भूमि फिर्ता गरेर नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
‘हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं, हाम्रो भूमिबाट छिमेकीले सेना फिर्ता लैजाउन,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी हाम्रो भूमि एक इन्च पनि मिच्न दिँदैनौं । अरुको जमिन चाहिँदैन । सीमा अहिले मिचिएको होइन । तर, यो विषयमा अहिले राष्ट्रिय एकता कायम गर्न हामी सफल भएका छौं ।’
प्रधानमन्त्री ओलीले भारतसँग तनाव गर्ने पक्षमा सरकार नरहेको उल्लेख गर्दै संवादबाटै सीमा विवाद समाधान गरिने बताए । ‘छिमेकीसँग तनाव नहोस भन्ने हामी चाहन्छौं, अहिलेको सरकार संवाद गर्न नसक्ने छैन । राष्ट्रिय हितका पक्षमा अड्न र लड्न सक्छ,’ उनले भने ।






