विराटनगर,
मंसिर १ ।
प्रदेश एकमा छरिएर रहेका गायन पारखीहरुको खोजीका लागि प्रदेश सिङ्गीङ आइडल हुने भएको छ । गाँउ गाँउमा रहेका नवप्रतिभालाई गायन क्षेत्रमा समेट्ने उद्देश्यले स्टुडियो यमनको आयोजनामा पहिलो पटक प्रदेश एक सिङ्गीङ आइडल आयोजना गर्न लागिएको हो ।
आयोजकका अनुसार प्रदेश एकका १४ जिल्लामा सिङ्गीङ आइडलको अडिसन गरिदै छ । फागुन १ गते झापाको बिर्तामोडबाट शुरु हुने गायन प्रतियोगिताको अडिसन फागुन महिनाभरी हुने यमन स्टुडियो तथा आयोजक समितिका कार्यक्रम निर्देशक तारावीर पाण्डेले जानकारी गराए ।
उनका अनुसार प्रतियोगिता प्रदेश एकका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, भोजपुर, ओखलढुङ्गा, खोटाङ, उदयपूर, धनकुटा, सुनसरी र मोरङ हुँदै झापा आएर समापन हुने छ ।
पहिलो चरणका कार्यक्रम झापाबाट सुरु भई झापामै आएर समापन भए लगत्तै दोस्रो चरणको कार्यक्रम पनि झापाबाटै सुरु हुने उनले बताए । प्रतियोगितामा कुनै उमेर हद निर्धारण नगरिएको हुँदा प्रतिभावन कलाकारलाई सुनौलो अवसर पनि हुने कार्यक्रम निर्देशक पाण्डेको भनाई छ ।
प्रतियोगिताको निर्णायक मण्डलमा बरिष्ठ गायक शम्भु राई, हिमाल सागर, सङ्गीतकार टिका भण्डारी र गायिका अञ्जु पन्त रहेका छन् ।
प्रतियोगितामा उत्कृष्ट हुने प्रदेश एक आइडललाई नगद ३ लाख सहित स्कुटर र गीत रेकर्डिङ, द्वित्तिय हुनेलाई ३ लाख सहित गीत रेकर्डिङ र तृतिय हुनेलाई २ लाख र गीत रेकर्डिङको व्यवस्था गरिएको छ । सिङ्गीग आइडलमा उत्कृष्ट १० मा पुगेपछिमात्र भोटिङ खुल्ला गरिने सचिव मशेश्वर लिम्बुले जानकारी गराए ।
प्रतियोगिता सञ्चालन गर्न एक करोड बढी रकम लाग्ने आयोजकका कोषाध्यक्ष मधु न्यौपानेले जानकारी गराउँदै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए ।






