काठमाडौं,
कार्तिक २६ ।
मित्रराष्ट्र बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद काठमाडौं आइपुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चार दिने भ्रमणका लागि समकक्षी हमिद काठमाडौं आएका हुन् । हमिदलाई राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् ।
स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत विमानस्थल पुगेका थिए । ५२ सदस्यीय प्रतिनिधि मण्डल सहित आएका हमिदलाई नेपाली सेनाले सम्मान गारत अर्पण गरेको छ ।
राष्ट्रपति हमिद आजै भक्तपुरको ऐतिहासिकस्थलको भ्रमणका लागि जानेछन् भने साँझ राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।
भ्रमणका क्रममा उनले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा राष्ट्रपति हमिद पोखरा पनि जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रका अनुसार बङ्गलादेशका राष्ट्रपति नेपाल भ्रमण पूरा गरेर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।






