हेटौंडा-१८ फुर्र्केचौरमा मंसीर ३ देखि १० सम्म महायज्ञ हुने

हेटौंडा,
कार्तिक २६ ।

गोरक्षनाथ माविको आयोजनामा मंसीर ३ गते देखि १० सम्म श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञ हेटौंडा–१८ फुर्केचौरमा रहेको विद्यालय प्राङ्गणमा हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँले जानकारी दिनुभएको छ ।

महायज्ञ आयोजनाको लागि प्रदेश ३ का प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा मूल समारोह समिति निर्माण गरिएको छ । महायज्ञ मूल समारोह समितिको प्रमुख निर्देशकमा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, मुल समारोहका निर्देशक हेटौडा १८ का वडा अध्यक्ष अनिलकुमार बानियाँ रहनु भएका छन् भने प्रमुख सल्लाहकारमा संघीय संसद् प्रतिनिधिसभा अर्थ समिति संयोजक कृष्ण दाहाल रहनुभएको छ ।

महायज्ञको लागि एकहजार ८ सदस्यीय मूल समिति निर्माण गरिएको छ भने ३४ वटा उप समिति रहने छ । ३ गते महायज्ञको उद्घाटन पूर्व कलश यात्रा हुनेछ भने ४ गतेबाट १० गतेसम्म दैनिक संगीतमय प्रवचन झाँकीसहित भक्ति संगीत हुने बताईएको छ । यस्तै समापनको दिन सामुहिक ब्रतबन्ध एवम् विवाह तथा दाता सम्मानको कार्यक्रम रहेको छ ।

‘गोरक्षनाथ माविलाई नेपालकै नमूना प्राविधिक शिक्षालयको पवित्र उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो, विद्यालयका अध्यक्ष बानियाँले भने, ‘मयहाज्ञबाट कम्तिमा एक करोड बचत गर्न सक्यौं भने नयाँ शैक्षिक सत्रबाट प्रविधिसहितको नयाँ कक्षा सञ्चालन गर्ने योजना रहेको छ ।’

मुख्यमन्त्री डोरमणी पौडेलको बाहुलीबाट ३ गते उद्घाटन हुने महायज्ञमा ख्याति प्राप्त वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको मुखारबिन्दबाट श्रीमद् भागवत महापुराण वाचन हुने आयोजक समितिले जानकारी दिइएको छ । महायज्ञमा आम जिल्लाबासीबाट सहयोगको लागि अपेक्षा गरिएको छ ।

महायज्ञमा ५ लाख भन्दा बढी रकम सहयोग गर्ने दाता वा उसले इच्छाएको व्यक्तिको नाममा विद्यालयको कोठाको नामाकरण गरिने निर्णय समेत गरिएको छ । महायज्ञको तयारीलाई तीव्र पारिएको विद्यालयका प्रधानाध्यापक योगराज खतिवडाले जनाकारी दिनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार