काठमाडौं,
कार्तिक २२ ।
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘मायाको मिठो झरिमा…’ सार्वजनिक भएको छ । दीपक खरेलको स्वर तथा सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
मुनाल शिशिर द्वारा निर्देशित भिडियोमा कशिस, सुदर्शन र रुपकको अनस्क्रिन रोमान्स देख्न सकिन्छ । भिडियोलाई बुद्ध थापाले छायाँकन प्रकाश तुलाधरले र सम्पादन गरेका हुन् ।
गीत लेखेरै विभिन्न विधामा ६ वटा विश्व रेकर्ड कायम गरेका उपाध्यायले वल्र्ड बुक्स अफ अमेरिका, अष्ट्रिलिया, वल्र्ड बुक्स अफ लण्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् ।
७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त समेत प्राप्त गरिसकेका छन् । उनले नेपाली गीतरसङ्गीतका विविध विधामा गरेको नामका खातिर विश्वका विभिन्न मुलुकले उनलाई सम्मान गरेको हो ।
‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोतारदर्शकमाझ ल्याएका डा. डीआर उपाध्यायले गीत लेखनबाट विभिन्न रेकर्ड राख्न सफल भएका हुन् ।
‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार डा. डीआर उपाध्यायलाई गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो । नेपाल र नेपाल बाहिर हुँने विभिन्न गीत सङ्गीतका अवार्डमा पनि उनका गीतले प्रायः जसो सबै अवार्डमा अवार्ड चुम्न सफल भएका छन् ।
उपाध्यायले उपन्यास लेखनमा पनि त्यतिकै सशक्त रुपमा कलम चलाउँदै आएका छन् । डा. डीआरका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् भने नयाँ उपन्यास ‘सपनाकी रानी’ पाठकमाझ आउँदै छ ।
यिन विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायका सात गीति एल्बम, एक उपन्यास र आठ उपन्यास सङ्गालोको लोकार्पण तथा राष्ट्रकवि माधव घिमिरे र वाङ्मय शताब्दी पूरुष सत्यमोहन जोशीलाई शतवार्षिकी अभिनन्दन कार्यक्रम यही कार्तिक २५ गते रसियन साँस्कृतिक केन्द्र कमलपोखरी, काठमाडौंमा ठिक १ बजे हुँदैछ ।






