काठमाडौं,
कार्तिक १९ ।
कवि सुन्दर कुरूपको कवितासङ्ग्रह ‘पृथ्वीको आविष्कार’ बजारमा आएको छ । अनामनगरस्थित मण्डला थियटरमा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले उक्त कृतिको विमोचन गरे । उनले सुन्दरका कवितामा विभिन्न राजनीतिक र सामाजिक उतारचढावहरूको मार्मिक प्रस्तुति रहेको जिकिर गरे । ‘समाजका देखिने र नदेखिने विविध पक्षलाई कवि सुन्दरले आकर्षक रूपमा प्रस्तुत गरेका छन्’ काइँलाले भने ।
सिर्जनशील अराजकताका अभियन्ता समेत रहेका कवि हाङ्युग अज्ञातले बताए । अज्ञातले नेपाली कविहरूले विज्ञानसम्मत कुराहरू लेख्नुपर्नेमा जोड दिँदै त्यसमा मौलिकतालाई समेत जोड्नुपर्ने तर्क गरे । उनले नेपाली मिडियाको वैचारिक धारसँग मिल्ने बाहेकका कविताहरू प्रकाशित गर्न अझै पनि गाह्रो अवस्था रहेको भन्दै यस सन्दर्भमा मिडियामा अप्रकाशित कवि सुन्दरका कवितासङ्ग्रह प्रकाशित हुनुलाई सकारात्मक पहलका रूपमा लिनुपर्ने बताए ।
मानुषी यमी भट्टराईले कवि सुन्दरका कविताहरू राजनीतिज्ञले पढ्नु पर्ने बताइन् । ‘सुन्दरका कविताले सांस्कृतिक अभियान र आन्दोलनमा टेवा पुर्याउने आशा राख्न सकिन्छ’ उनले भनिन् । कार्यक्रममा कवि सुन्दरले कविता सङ्ग्रहबारे बोल्दै ग्रामीण परिवेश नै आफ्नो कविताको स्रोत भएको बताए । ‘पृथ्वीको आविष्कार’लाई सांग्रिला बुक्सले प्रकाशित गरेको हो ।






