काठमाडौं,
कार्तिक ९ ।
चलचित्र ‘च च हुई’ को ट्रेलर सार्वजनिक भएको छ । सिल्की सिल्की बाल र जवानी बोलको दुई गीत सार्वजनिक गरिसकेको टिमले ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरलाई चलचित्रका मुख्य पात्रहरु आर्यन सिग्देल, भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङको वरपर घुमाइएको छ । दुइ बेकामिले युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई यसमा रमाइलो तरिकाले चित्रण गरिएको छ । जीवनको पिङ च च हुई गरेर मच्चिन खोज्दा आउने अवस्थालाई चलचित्रमा देखाइएको छ ।
आर्यन र भोला हङकङमा काम गरिरहेका दुइ युवाको भूमिकामा छन् भने मिरुना हिमाली भेगको युवतीको भूमिकामा छिन् । चलचित्रमा निर्देशन र सम्पादन साम्तेन भुटियाको रहेको छ । चलचित्रमा पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय पनि रहेको छ ।
रोमान्टिक कमेडी जनरमा तयार भएको हो यो चलचित्रलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसै चलचित्र मार्फत निर्माणमा आउँदैछन् । यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ भने, पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् ।
चलचित्रका गीतमा राजनराज शिवाकोटी र रोशन थापाको सङ्गीत छ । यसमा निमालामाको मेकअप, रेनिश फागोको कलर करेक्सन, श्री श्रेष्ठको द्वन्द्व, शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । चलचित्रलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ । चलचित्रले सिनेमाघरमा आउने मिति मंसिर ६ लाई तय गरेको छ ।






