रियालिटी शो ‘काराओके आईकन’को दोस्रो संस्करण हुँदै

काठमाडौं,
कार्तिक ६ ।

रियालिटी शो ‘काराओके आईकन’को दोस्रो संस्करण हुने भएको छ । यो प्रतियोगिताको दोस्रो सिजन अर्थात ‘काराओके आईकन-२०२०’का लागि यही १६ गते काठमाडौंबाट अडिसन सुरु हुने भएको हो । आयोजक संस्था रेक्स फेसन होमले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

‘गीत सङ्गीतमा रमाउँ, नाचौँ, धेरै बाँचौँ’ भन्ने नाराका साथ गत वर्षदेखि सुरु भएको ‘काराओके आइकन’ अन्य गायन प्रतियोगिताहरु भन्दा केही फरक भएको आयोजक संस्थाका अध्यक्ष खगेश रञ्जितकारले बताए । कार्यक्रममा प्रतियोगिताबारे जानकारी गराउँदै रञ्जितकारले भने, ‘यो प्रतियोगिताले नयाँ प्रतिभाहरुलाई मात्र पुराना कलाकारलाई समेत पुर्नस्थापित गर्नेछ ।’

‘काराओके-२०२०’का लागि सातै प्रदेशको ७७ जिल्लामा अडिसन लिइने आयोजकले जनाएको छ । पहिलो अडिसनबाट १५० जना छनोट गरी टप-५० लाई सेमिफाइनमा इन्ट्रि दिइने संस्थाका अध्यक्ष रञ्जितकारले बताए । उनका अनुसार ग्राण्ड फिनालेका लागि टप-२५ को प्रतिस्पर्धा हुनेछ ।

‘काराओके आईकन’मा सहभागी हुनका लागि निश्चित मापदण्ड तोकिएको छ । आयोजकका अनसार प्रतियोगीले नेपाली आधुनिक र पप गीतको ट्रयाकमा मात्र गाउन पाउनेछन् । जसमा आफूले गाउन चाहेको गीतको ट्रयाक प्रतियोगी आफैले पनि छनोट गर्न सक्नेछ ।

प्रतियोगिताका लागि आधुनिक र पपलाई मात्र स्थान दिइए पनि कार्यक्रम राम्रो लोक तथा दोहोरी गाउनेलाई सामेल गराइने रञ्जितकारले बताए । उनले भने, ‘यो एउटा गायन प्लेटफर्म हो, त्यसैले सबै किसिमका गीतलाई स्थान दिइनेछ, तर प्रतियोगिताका लागि आधुनिक र पपलाई मात्र समेटिनेछ ।’

प्रतियोगितामा प्रतियोगीले गाउने म्युजिक ट्रयाकका अर्जिनल गायक/गायिकालाई समेत कार्यक्रममा सहभागी गराइएने जनाइएको छ । प्रतियोगिताका लागि गायक भीम तुलाधर, गायिका बुनु राई मानन्धर र काराओके आइडल खगेश रञ्जितकार निर्णायकको भूमिकामा छन् । कार्यक्रममा बोल्दै निर्णायकमध्येका गायक तुलाधरले ‘काराओक आईकन’ नेपाली गीतसंगीत क्षेत्रका लागि सकरात्मक रहेको बताए ।

उनले भने, ‘७-८ वर्षअघिसम्म काराओके गाउन नेपाली म्युजिक ट्रयाक नै पाइँदैनथ्यो । गाउन चाहनेले हिन्दी गीतमा गाउनुपर्दथ्यो । तर, यो कार्यक्रमले नेपालीमा पनि काराओके गाइन्छ भन्ने सन्देश दिएको छ । यो सर्जकका लागि खुसीको कुरा हो ।’

यस प्रतियोगिताका विजेतालाई २ लाख रुपैयाँ नगदका साथै एक म्युजिक भिडियो र अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी गराइने जनाइएको छ । त्यस्तै, दोस्रोलाई नगद ५० हजार र तेस्रोलाई नगद २५ हजार प्रदान गरिने जनाइएको छ । साथै, उनीहरुलाई आयोजकले एक–एक गीत तथा म्युजिक भिडियो निर्माण गरिदिने रञ्जितकारले बताए ।

यसमा तपाइको मत

अन्य समाचार