तीन दशकदेखि गायनमा सीताराम

– कृष्ण भुसाल

नेपाली गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक हुन्– सीताराम पोखरेल । गायन सँगसँगै गीतलेखनमा पनि आफूलाई प्रस्तुत गर्दै आएका सीताराम गायकमात्रै नभएर राम्रो गीतकारका रुपमा समेत चिरपरिचत छन् नेपाली गीत सङ्गीतको फाँटमा । नेपाल आयल निगममा लामो समयसम्म जागिरे जीवन बिताएका सीताराम जागिर सँगसँगै गीत–सङ्गीतको क्षेत्रमा पनि आफ्नै पहिचान बनाउन सफल छन् । यतिबेला ३२ वर्षे जागिरे जीवनबाट अवकाश लिएका उनको स्रोता÷दर्शकमाझ आएको पछिल्लो साङ्गीतिक कोशेली हो– ‘अल्कोहलिक लभ’ । बडादशैँको अवसरमा यही गीतसहित सातौं एल्बम स्रोता÷दर्शकमाझ ल्याउने तयारीमा छन् उनी यतिबेला । उनका यसअघि ‘बिनाकारण’, ‘स्पार्क’, ‘अक्टोबर ४’, ‘सम्मान’ र ‘सम्मान २’ गरी ६ वटा एल्बम स्रोता÷दर्शकमाझ आइसकेका छन् ।

२०४४ सालदेखि औपचारिक रुपमा गीत–सङ्गीतको क्षेत्रमा होमिएका उनका आजसम्म आउँदा थुप्रै गीत स्रोता÷दर्शकमाझ लोकप्रिय छन् । २०४४ सालमा आफैँले लेखेको गीत ‘सजाइदियौ जिन्दगी नै मेरो’ रेकर्ड गरेर औपचारिक रुपमा यो क्षेत्रमा होमिएका थिए सीताराम । यो गीतमा भुपेन्द्र रायमाझीको सङ्गीत रहेको थियो । सीतारामले २०४४ सालमै रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका थिए ।

खोटाङ जिल्लामा बुबा भवनाथ पोखरेल र आमा ईश्वरीदेवी पोखरेलको कोखबाट जन्मिएका सीताराम सानैदेखिको आफ्नो रुचि यस क्षेत्रमा रहेकाले बिस्तारै ठूलो हुँदै जाँदा यो क्षेत्रमा हेलिएको बताउँछन् । ‘म तीन–चार वर्षको हुँदा नै सिठ्ठी बजाउने गर्थें रे, ममा गीत–सङ्गीत गड गिफ्ट नै हो’ भन्छन् उनी । सङ्गीत त पछि सिकेर पनि हुन्छ तर गायनमा चाहिँ गड गिफ्ट नै हुनुपर्ने उनी दाबी गर्दै भन्छन्– ‘यो जन्मसँगै आएको हुन्छ, यसलाई आफूले पछि अझ परिष्कृत गर्नुपर्छ ।’

खोटाङपछि विराटनगरमा तीन–चार कक्षामा पढ्न आएका उनको साथीसङ्गीको माहोल पनि त्यस्तै भएको उनी बताउँछन् । त्यो बेला स्कुलमा टेबुल ठोकेर गीत गाउने उनी सहपाठीहरु भुपेन्द्र रायमाझी, रमेश बुढाथोकी, मोहन निरौला, उज्ज्वल घिमिरेहरुसँगको माहोल नै गीत–सङ्गीत र अभनिय रहेका कारण यस क्षेत्रमा अझ हेलिँदै गएको बताउँछन् ।

विराटनगरमा ‘द टाइरोज ग्रुप’ ब्याण्ड नै खोलेर साङ्गीतिक प्रस्तुति दिँदै आएका उनीहरुले २०३५ सालतिर बुटवल, भैरहवा, पोखरासम्म पुगेर कार्यक्रम गर्ने गरेको बताउँछन् । ब्यान्डमा हुँदा उनले लेखेको गीत ‘आँखाको नानी हौ तिमी’ले निकै नै चर्चा पाएको थियो । ब्याण्डमा हरिश माथेमा बेस गिटारिस्ट थिए । ‘आँखाको नानी हौ तिमी’ हरिशले गाए । उनले गाएपछि गीत हिट भयो, उनी बेस गिटारिस्टभन्दा पनि गायकको रुपमा परिचित भए । त्यही गीत पछि सीतारामले नै रिमेक गरेर गाएका छन् ।

गीतलेखन, गायन सँगसँगै गीतको भिडियोमा पनि देखिने उनी यतिबेला राजधानीमा हुने थुप्रै ट्यालेन्ट शो तथा ब्युटी प्याजेन्टहरुमा निर्णायकको रुपमा पनि बाक्लै देखिने गर्छन् । उनी इभेन्ट म्यानेजमेन्ट अफ नेपालको सल्लाहाकार पनि रहेका छन् । दुई दशकभन्दा बढी समयदेखि गायन क्षेत्रमा निरन्तरता दिँदै दुई सयको हाराहारीमा गीत गाइसकेका उनको ‘वेस्ट म्युजिक भिडियो सीताराम पोखरेल’ नामक भिसिडी पनि बजारमा आएको छ, जसमा मिस नेपाल तथा नायिकाहरु रुबी राणा, सुमी खड्का, निशा अधिकारी, रञ्जना शर्मा, उषा पौडेल, नन्दिता केसी, अरुणीमा लम्साल, दीपा शाह, सुमिना घिमिरे, झरना थापा, सुरभी जैन, मेनुका प्रधान, सुप्रिया कटवाल, अनु शाह, प्रियंका कार्कीलगायतले अभिनय गरेका छन् ।
पछिल्लो समयमा एउटा गीत नै हिट भयो भने पनि गायकलाई राम्रो भएको, पहिला जस्तो नभएर धेरै राम्रो हुँदै गएको बताउने सीताराम तपाईंलाई पैसाले गायक बनेको भन्ने अरोप लाग्ने गर्छ नि ? भन्ने प्रश्नमा ‘गाउन सक्नुप¥यो नि, पैसाले मात्र हुँदैन, प्रतिभा हुुनुपर्छ’, भन्छन् । गीत सङ्गीतमा आफू आफ्नै प्रतिस्पर्धी रहेको, कसैको सिको, कसैको गुनासो नरहेको, आफैँ रमाइरहेको उनी बताउँछन् ।

नेपाल–भारत विश्वमैत्री परिषद्का उपाध्यक्षसमेत रहेका सीताराम विभिन्न सङ्घ–संस्थामा सल्लाहाकारका रुपमा रहेर आफ्ना अनुभवहरु बाँडिरहेका छन् । दुई सयको हाराहारीमा सुमधुर गीतमा आफ्नो आवाज भरिसकेका सीतारामले निरन्तर सङ्गीत साधनामा नै लागेर देश र देशबाहिर चर्चा कमाएका छन् । देश–विदेशबाट सयौं मान–सम्मान पाएका पोखरेल राष्ट्रिय गायन सम्मान, राष्ट्रिय नागरिक सेवा सम्मानलगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाइसकेका छन् । नेपाल आयल निगमको निर्देशकजस्तो गरिमामय पदमा पुगेर अवकाश जीवन बिताइरहका गायक पोखरेल गायनसँगै समाजसेवामा समेत अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् । उनका यी कर्महरुमा श्रीमती रमा पोखरेल र दुई छोरा शिविर अनि सिजनले साथ– सहयोग पुर्याइरहेका छन् ।

आफ्नै गतिमा निरन्तर बढिरहेको छु

अहिले के गर्दै हुनुहुन्छ ?
यतिबेला म सातौं एल्बमको तयारीमा छु । यसै महिना अर्थात् दशैँको शुभकामना नै यो एल्बम हुनेछ मेरो स्रोता–दर्शकलाई । नाम चाहिँ एल्बममा रहेका गीतमध्ये एउटा गीत ‘अल्कोहलिक लभ’ बाट जुराएको छु ।

कहिलेदेखि आउनुभयो यो क्षेत्रमा ?
सानैदेखि गीत गाउँथे । २०३४/०३५ सालतिर विराटनगरको पहिलो साङ्गीतिक ब्याण्ड ‘द टाइरोज ग्रुप’ खोलेपछि यसैको माध्यमबाट आएको हुँ ।

कसका लागि गाउनुहुन्छ गीत ?
म स्वयम् आफ्नै अनि मुख्यतः दर्शक/स्रोताहरुको लागि पस्किन्छु, जो गीत–सङ्गीतमा रम्न चाहन्छन् ।

कस्ता गीत गाउन बढी रुचाउनुहुन्छ ?
म आधुनिक गीत गाउन अलि बढी मनपराउँछु । पप गीतहरु पनि गाउन मन लाग्छ ।

जीवन र गीत के हो ?
जीवन आँसु र हाँसोको सङ्गम हो । दुःख र सुखको साथी हो । यसको सारथी नै गीत हो जस्तो लाग्छ मलाई ।

गीतको आत्म के हो ?
गीतको आत्म शब्द हो । स्वर र सङ्गीतले त्यसलाई मासु भरिएको शरीरको राम्रो रुप दिन्छन् ।

अचेल आत्म भएका गीत कम पाइन्छ भन्छन् नि ?
हो, अचेल आत्म भएका गीत पाउन अलि कठिनै छ । सङ्गीत र स्वरले त्यसलाई छेकेका छन् । तर, आत्म भएका गीत यदाकदा सुन्न नपाइने भन्ने होइन, पाइन्छ ।

नेपाली गीत-सङ्गीतको अहिलेको अवस्था कस्तो पाउनुहुन्छ ?
राम्रै छ । सधैँ एउटै स्थानमा रह्यो भने हाम्रो देशजस्तै हुन्छ । गीत–सङ्गीतको विकास राम्रै भइरहेको छ । नयाँ–नयाँ प्रयोगले बिस्तारै अन्तर्राष्ट्रियकरण हुँदैछ । यो सुखद् पक्ष हो ।

यहाँलाई मनपर्ने गीत ?
धेरै छन् । त्यसमध्ये ‘गाजलु ती ठूला–ठूला आँखा…’ असाध्यै मनपर्छ ।

यहाँलाई मनपर्ने गीतकार र गायक ?
गीतकारमा डा. कृष्णहरि बराल र गायकमा प्रेमध्वज प्रधान ।

पछिल्लो समय बजारमा आएका गीत कस्ता छन् ?
अचेल आएका गीतहरु पनि राम्रै छन् । समयअनुसार फड्को मारेका छन् । तर, गीतको ट्रेन्ड बदलिएको छ । मौलिक नेपाली शब्द भएका गीतले बजार पाउन थाल्यो भने खुसी लाग्छ ।

राम्रो गीत, राम्री युवती र मदिरा कुन रोज्नुहुन्छ ?
उनानसय प्रतिशत गीतहरुमा युवती र मदिरा पाइने हुँदा गीत नै रोज्छु ।

गीत गाएर पाइने र नपाइने के हो ?
पाइने आनन्द, आत्मसन्तुष्टि र चर्चा अनि नपाइने जहाँ मन लाग्यो त्यहाँ जान, जे पनि खान, जस्तोसँग पनि सङ्गत गर्न अनि मुख्यतः जीवन धान्न सक्ने अर्थ ।

गीत-सङ्गीतका क्षेत्रमा रहेका गुट-उपगुटहरुलाई तपाईं कुन रुपमा लिनुहुन्छ ?
म आफ्नै गतिमा निरन्तर बढिरहेको मानिस हुँ । विगत तीन दशकदेखि यी गुट–उपगुटमा नलागी एउटै धारमा हिँडिरहेको छु, शुद्ध सङ्गीतको धारमा ।

नेपाली गीत-सङ्गीतलाई विश्व गीत-सङ्गीतको दाँजोमा कहाँनेर पाउनुहुन्छ ?
पहिला हामीले हिन्दी गीत–सङ्गीतलाई हटाउनु छ । बिस्तारै विश्व सङ्गीततिर लम्कन्छ नेपाली गीत–सङ्गीत । लक्षणहरु अति नै सकारात्मक छन् । तर, सरकारी तवरबाट गीत–सङ्गीत, कला, कलाकार कसैका लागि पनि राम्रो नीति बन्न सकेको छैन् ।

घरपरिवारबाट तपाईंको गायनलाई कत्तिको सर्पोट मिलेको छ ?
घरपरिवार, आमा-बुबा, श्रीमती, छोराहरु सबैबाट पूर्ण सहयोग छ, नत्र म यो अवस्थामा पुग्नै सक्ने थिइनँ ।

अवार्ड प्राप्त गरिरहेका गीत-सङ्गीतका बारेमा तपाईंको धारणा के छ ?
अहिले अवार्डहरु धेरै नै भएका छन् । अवार्ड पाएँ भन्दैमा गीत राम्रो छ भन्न सकिन्न । तर, अवार्ड आफैँमा नराम्रो हैन । यसले स्रष्टालाई प्रोत्साहन गर्छ, ऊर्जा भर्छ । यो सङ्गीतको मञ्च हो, जहाँ पुरानाको सम्मान हुन्छ, नयाँलाई प्रोत्साहन हुन्छ ।

तपाईं लामो समयसम्म नेपाल आयल निगममा कार्यरत रही निवृत्त हुनुभएको छ, जागिरे जीवनको अवकाशपछि अब के गर्ने योजनामा हुनुहुन्छ ?
हो, म ३० वर्षसम्म नेपाल आयल निगममा कार्यरत थिएँ । निर्देशकसम्म पुग्दा नि मैले गीत–सङ्गीतलाई निरन्तरता दिइरहेँ । अबका दिनमा पनि यही क्षेत्रमा रमाउँछु । पछिल्ला दिनमा यसैमा व्यस्त छु । विभिन्न अवार्ड, सुन्दरी प्रतियोगितामा निर्णायकको भूमिकामा हुन्छु । अन्य धेरै सङ्घ–संस्थामा कार्यसमितिमा छु, सल्लाहाकार छु । त्यस्तै, समाजसेवामा पनि आफूलाई संलग्न गराउँदै आएको छु ।

आफूले अहिले बिताएको यो जीवनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
अहिले बिताएको जीवनबाट म पूर्ण सन्तुष्ट छु । निगममा बसेर देश र जनताको सेवा गरें । गीत–सङ्गीतमा लागेर थुप्रै फ्यानहरु पाएँ । सबैले चिन्छन् । आमा-बुबा, घर-परिवार सबैको सर्पोट छ । एउटा छोरा नेपाली सिने क्षेत्रमा नायक नै हो भने अर्को व्यापारमा छ । साथीभाइहरु छन् । सबै राम्रो छ ।

स्वमूल्याङ्कनका आधारमा तपाईं सफल कि असफल मानिस  ? आफ्नो प्रतिविम्बन आफैँले गर्नुहोस् त ?
म आफूलाई सफल मानिस नै मान्छु । नेपाल आयल निगममा ३० वर्ष जागिर खाँदा विभिन्न आरोह-अवरोह आउँदा पनि आफ्नो कर्तव्य छोडिनँ । राम्ररी नै रिटार्यड भएँ, यो एउटा ठूलो सफलता हो । त्यस्तै, घर–परिवार पनि राम्ररी नै चलेको छ । गीत–सङ्गीतको पाटोमा पनि सन्तुष्ट नै छु ।

गायनमा आउन लागेका नयाँ लेखकहरुलाई कस्तो सल्लाह दिन चाहनुहुन्छ ?
गायन क्षेत्रमा आउन लागेका भाइबहिनीहरुलाई सिकेर आउनुहोस्, निरन्तरता दिनुहोस्, हावाका भरका नआउनुहोस् भन्न चाहन्छु ।

यसमा तपाइको मत

अन्य समाचार