‘वल्र्ड नेपाली म्युजीक अवार्ड २०१९’को उत्कृष्ट दश सार्वजनिक

काठमाडौं,
असोज १४ ।

आउँदो नोभेम्बर २३ मा अमेरिकाको न्यूओर्कमा पहिलो पटक आयोजना हुन लागेको ‘वल्र्ड नेपाली म्युजीक अवार्ड २०१९’को उत्कृष्ट दश सार्वजनिक गरिएको छ । जम्मा १८ बिधा रहेको यस अवार्डको आइतबार राजधानीको होटल अन्नपूर्णमा एक कार्यक्रमकाबीच नोमिनेशनमा परेका सम्पूर्ण कलाकारहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रसिद्ध गायक प्रेमध्वज प्रधानले नेपाली गीतसङ्गीतलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन ठूलो योगदान पुर्याएको भन्दै आयोजक टिमलाई धन्यवाद दिए । साथै उत्कृष्ट दशमा पर्न सफल कलाकारहरुलाई बधाई तथा शुभकामना दिए । कार्यक्रममा सङ्गीत बिधासँग सम्बन्धित बिभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

उत्कृष्ट दशमा परेका कलाकारहरु अबको दोस्रो चरणमा उत्कृष्ट तीनका लागी छनोट हुनेछन् । जसका लागी निर्णायक र भोटिङको आधारमा छनोट गरिनेछ । आयोजक वल्र्ड कनेक्सन युएस इन्कका उपाध्यक्ष दावा शेर्पाका अनुसार सेप्टेम्बर २९ गतेदेखि विश्वभरबाट भोटिङ गरी उत्कृष्ट १० मा परेका कलाकारहरुलाई निर्णायकको तर्फबाट ३० प्रतिशत, एसएमएस भोटिङबाट ४० प्रतिशत, सोसियल मिडियाबाट २० प्रतिशत र अनलाइन भोटिङबाट १० प्रतिशत अङ्कसहित उत्कृष्ट तीन हरेक विधाबाट चुनिनेछन् । उत्कृष्ट तीनमा पर्न सफल कलाकारहरुमात्र फाइनल अवार्ड समारोहमा सहभागी हुन युएसको भिषा प्रक्रियामा लगिने उपाध्यक्ष शेर्पाले बताए ।

फेदर क्रिएशन प्रा.लि.को सहकार्यमा सम्पन्न हुने यो अवार्डका लागी गएको २१ जुन २१ देखि ३० अगष्टसम्म संसार भरीबाट ७ सय ८२ फर्म दर्ता हुन आएका थिए । तीफर्मको आधारमा आठ निर्णायक समितिले उत्कृष्ट दश छनोट गरेको हो ।

अवार्डमा उत्कृष्ट पाश्र्व गीतः पुरुष र महिलातर्फ, भाषा भाषी चलचित्रको गीतः पुरुष र महिला तर्फ, उत्कृष्ट आधुनिक गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट लोक दोहोरी गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट लोक गीतः पुरुष र महिला, उत्कृष्ट गीतकार, उत्कृष्ट सङ्गीतकार, उत्कृष्ट म्युजीक भिडियो निर्देशक, उत्कृष्ट सङ्गीत संयोजन, उत्कृष्ट लोपन्मुख गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट पप गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट लोक गीत लय सङ्कलक, उत्कृष्ट म्युजीक भिडियो मोडलः पुरुष र महिलातर्फका उत्कृष्ट दशलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार