सिंहदरबारमा बन्ने नयाँ संसद् भवनको प्रधानमन्त्रीद्वारा शिलान्यास

काठमाडौं,
असोज १ ।

नयाँ बन्ने संसद भवनको आज शिलान्यास भएको छ । सिंहदरबारको पुतली बगैंचामा बन्ने भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभएको छ । १७३ रोपनी क्षेत्रफलमा बन्ने यो भवन ३ वर्षमा निर्माण सम्पन्न हुने गरी काम सुरु गरिएको हो । यसको अनुमानित लागत ९ अर्ब रुपैयाँ बताइएको छ ।

शिलान्यासपछि बोल्दै प्रधानमन्त्री ओलीले यो भवन तोकिएकै समयमा बन्ने र त्यसपछि सांसदहरु यसै भवनमा सर्ने बताउँनुभयो ।

१५ वर्षअघि नै संसद्को भवन निर्माणको योजना अगाडि सारे पनि हाल आएर मात्र निर्माणको काम अगाडि बढेको हो । शहरी विकास तथा भवन निर्माण विभागले अन्तर्राष्ट्रिय मापदण्डअनुसार भवनको डिजाइन गरेको छ ।

आधुनिक र प्रविधिमैत्री संसद् भवन १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा फैलिनेछ । ५ अर्ब २६ करोडमा निर्माण हुन लागेको संघीय संसद् भवन निर्माण भएपछि संसदीय समिति, संसदीय दलको कार्यालय, संसद् सचिवालय एउटै भवनबाट सञ्चालन हुनेछ ।

संसद् भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय/ सङ्ग्रहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेस/छपाई भवन र ७ सयवटा सवारीसाधन पार्किङ तथा सुरक्षाकर्मीको भवन रहनेछ ।

भवन क्षेत्र, खुला क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरी विभाजन गरिएको छ। भवन क्षेत्रले २७ प्रतिशत र हरियाली क्षेत्रले ४५ प्रतिशत क्षेत्र ओगट्ने छ भने भवनको मूलढोका दक्षिणतर्फ रहने गरी डिजाइन गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार