काठमाडौं,
भाद्र २९ ।
नेपालीहरुको महान् पर्व दशैँको छेको पारेर असोज १० देखि देशभरका सिनेमाघरमा आउँन लागेको चलचित्र ‘रातो टिका निधारमा’को शीर्ष गीत सार्वजनिक गरिएको छ । अशोक शर्माको निर्देशन रहेको यो चलचित्रको राजधानीमा एक कार्यक्रमका बीच शीर्ष गीत सार्वजनिक सार्वजनिक गरिएको हो ।
दशक अगाडि निर्माण भएको अशोककै सुपरहिट चलचित्र ‘अल्लारे’को गीत ‘रातो टीका निधारमा टलक्क टल्कियो’ लाई रि एरेञ्ज गरेर यो चलचित्रमा शीर्ष गीतको रुपमा राखिएको हो ।
पहिले यो गीत उमेश पाण्डे र रमना श्रेष्ठले स्वर दिएका थिए । अहिले भने यो गीतमा प्रमोद खरेल र मेलिना राईले स्वर छ । गीतको पहिले र अहिले सङ्गीत शम्भुजित बाँस्कोटाले गरेका हुन् ।
शहदेव ढुंगानाको शब्द रहेको यो गीतमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नवअभिनेता अंकित शर्माको नृत्य देख्न सकिन्छ । यी दुबैको साथमा नीता ढुंगाना, खुश्वु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुसाल, अरुणा कार्की पनि गीतमा देखिएका छन् । गीतको कोरियोग्राफी वसन्त श्रेष्ठले गरेका हुन् ।
सङ्गीतकार बाँस्कोटाले रिमेकमा पनि पुरानो गीतको मर्म मर्न दिएका छैनन् । वैदेशिक रोजगारीको कथाको विषयवस्तुमा बनेको चलचित्र ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको हो ।
चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको सङ्गीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स रहेको छ । चलचित्रका निर्माता किरण शर्मा र कृति शर्मा हुन् ।






