काठमाडौं,
भाद्र २३ ।
चलचित्र ‘सेल्फी किङ’ को औपचारिक घोषणा गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच यस चलचित्रको औपचारिक रुपमा निर्माण घोषणा गरिएको हो ।
चलचित्रमा विपीन कार्की र लक्ष्मी बर्देवाले स्क्रिन शेयर गर्ने भएका छन् । यसअघि लक्ष्मी बर्देवा चलचित्र बुलबुलमा महिला टेम्पो चालकको रूपमा देखिएकी थिइन् । साथै नायिका केकी अधिकारीले पनि चलचित्रमा अतिथिको भूमिका निर्वाह गर्दैछिन् ।
चलचित्रलाई विशाल सापकोटाले निर्देशन गर्दैछन् । अमेरिकाको लस एन्जलस सिटी कलेजमा चलचित्र निर्देशन अध्ययन गरेका विशालको यो डेब्यु निर्देशन हो ।

चलचित्रमा विपीन, लक्ष्मी र केकीसँगै भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहेने छ ।
निर्देशक सापकोटाले चलचित्रमा हाँस्य कलाकारको कथालाई उतार्न खोजिएको बताए । निर्देशनबाट चलचित्र निर्माणमा आएका दिनेश राउतले निर्देशक सापकोटाले सुनाएको कन्सेप्ट आफूलाई मन परेको र उनको ट्यालेन्टलाई विश्वास गरेर टिमअप गरेको बताए ।






