काठमाडौं,
भाद्र ९ ।
नेपाल प्रज्ञा-प्रतिष्ठानमा हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रमको आयोजना गरिएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल प्रज्ञा-प्रतिष्ठान समितिद्वारा आयोजित कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली समाज बहुल संस्कृतिले सम्पन्न भएको उल्लेख गर्नुभयो, । उहाँले भन्नुभयो, ‘तीज हिन्दु धर्म मान्ने महिलाहरूको एउटा विशिष्ट पर्व हो । सामाजिक विविधतायुक्त समाजमा यस पर्वको छुट्टै महत्व छ ।’
सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा तीजले विशेष टेवा पु¥याउन मद्दत पु¥याएकोे बताउनुभयो । तीज आत्मीयता र सद्भावको पर्व पनि हो भन्दै उहाँले निराहार ब्रतका नाममा पानीसमेत नखाई भोकभोकै ब्रत बस्नुको अर्थ नहुने विचार व्यक्त गर्नुभयो । भन्नुभयो, ‘चित्त शुद्धि भएमा काया पनि स्वतः शुद्धि हुन्छ ।’
कार्यक्रममा प्रा माया ठकुरी, प्रा.डा. उषा ठाकुर, प्राज्ञ लक्ष्मी मालीले तीजको महत्व र विशेषता सम्बन्धी आ-आफ्ना विचार व्यक्त गर्नुभएको थियो । त्यस क्रममा प्राज्ञ ठकुरीले तीज गीत समेत गाउनुभएको थियो । उहाँले तीजको अवसरमा महिलाहरूले पारिवारिक तथा सामाजिक विभेद, अन्याय र अत्यचारविरुद्ध गीतका माध्यमबाट विद्रोह गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन सरकारी स्वायत्त सङ्घका अध्यक्ष रेवतीरमण अधिकारी, कलाकार तथा कर्मचारी सङ्गठन, नेपाल प्रज्ञा-प्रतिष्ठानका अध्यक्ष विश्वमोहन राजभण्डारी, लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घ र नेपाल प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष अशोककुमार चौरसियाले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा आयोजक सङ्गठनकी उपाध्यक्ष राधा कार्कीले शब्द-स्वागत गर्नुभएको थियो भने नानु सुवेदीले गाम्रीण तिजगीत गाउनुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल प्रज्ञा–प्रतिष्ठान समितिका अध्यक्ष धनबहादुर कार्कीले तत्कालीन उपकुलपति प्रा।डा। वासुदेव त्रिपाठी र सदस्य सचिव गीता केशरीको सुझाब र सल्लाहअनुसार तिज कार्यक्रम आयोजना सुरु गरिएको स्मरण गर्नुभयो । उहाँले भननुभयो, ‘त्यस यता प्रज्ञा-प्रतिष्ठानकै सहयोगमा तीज कार्यक्रमलाई निरन्तरता पदइरहेका छौँ ।’
कार्यक्रममा पूर्व सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरी, प्राज्ञसभा सदस्य शशी लुमुम्बू, प्रज्ञा-प्रतिष्ठानका प्रशासन प्रमुख सुमन अधिकारी, महाशाखाका प्रमुखहरू, शाखा प्रमुखहरूका साथै समस्त कर्मचारी परिवारको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सङ्गठनका उपाध्यक्ष महेश्वर थापाले गर्नुभएको थियो ।






